ad ad

राजनीति


संसद खुलाउन दलहरू सहमत, मंगलबार कार्यदलले अन्तिम रुप दिने

संसद खुलाउन दलहरू सहमत, मंगलबार कार्यदलले अन्तिम रुप दिने

नेपालखबर
जेठ १४, २०८१ सोमबार २१:५४, काठमाडौँ

संसद्‌मा जारी गतिरोध अन्त्य गर्न सत्ता र प्रमुख प्रतिपक्षी दलहरूबीच सहमति बनेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सैद्धान्तिक सहमति जुटाएको हो। 

बैठकबाट निस्कँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमति जुटेको र भोलि कार्यदलको बैठक बसेर अन्तिम रुप दिने जानकारी दिए। 

‘गम्भीर छलफल भयो, हामी निष्कर्ष उन्मुख छौँ, भोलि कार्यदलले बसेर अन्तिम रुप दिन्छ। सकारात्मक छ, छलफल राम्रो भएको छ,’ उनले भने। 

सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिको टीओआर (कार्यादेश) बारे दलहरू सहमति जुट्न सकेको थिएन। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद्को गतिरोध अन्त्य गर्नेगरी सोमबार साँझ ६ बजेदेखि नै सत्ता र प्रतिपक्षका नेताहरू छलफलमा जुटेका थिए। 

सोमबार बिहान पनि एक चरणमा बालुवाटारमै वार्ता भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको छलफलमा सहभागी दुवै दलका नेताहरूले आ–आफ्नो अडानमा टसमस भएका थिएनन्। 

यद्यपि बिहान बालुवाटारमा भएको छलफलबारे कांग्रेस नेताहरूले दिउँसो पार्टी सभापति शेरबहादुर देउवा निवास बालुवाटारमा छलफल गरेका थिए। 

लगत्तै उनीहरू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार फर्किएका थिए। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू कृष्ण प्रसाद सिटौला, जीवन परियार, रमेश लेखक लगायतका नेताहरू बालुवाटारमा छलफल गर्न पुगेका थिए।

त्यस्तै, टीओआर कार्यदलमा सहभागी नेताहरू पनि बालुवाटार पुगेका थिए। 

यसअघि नै समिति बनाएर जाने कुरामा सत्ता र प्रतिपक्षीबीच कुरा मिलिसकेको थियो। यद्यपि टीओआरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राख्ने विषयमा कांग्रेसले अडान राखिरहेको थियो।

टीओआरमा रविको नाम उल्लेख नगर्दा उनी आबद्ध कम्पनी र सहकारीको छानबिन हुनुपर्ने कांग्रेसले बताएको थियो। 

भोलि (मंगलबार) सरकारले आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्दैछ। सो बजेट पढ्नुअघि नै सहमति बनाउनेगरी प्रधानमन्त्री प्रचण्डले कसरत गरिरहेका छन्। 

बजेट ल्याउनैपर्ने बाध्यात्मक परिस्थितिकाबीच सदनबाट बजेट नाराबाजी नभइ ल्याउने पहल भइरहेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .