राजनीति


कार्यदल बन्यो होला भन्ने विश्वास छैनः नेम्वाङ

कार्यदल बन्यो होला भन्ने विश्वास छैनः नेम्वाङ

नेपालखबर
फागुन १२, २०७६ सोमबार १३:२,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले संविधान संशोधन गर्न कार्यदल बनेको बारे आफूलाई विश्वास नभएको बताएका छन्।

साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले कार्यदलबारे अन्यौलता प्रकट गरेका हुन्।

शनिबार नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका लागि अध्ययन कार्यदल गठन गर्ने प्रस्ताव गरेको बताइएको थियो। माधव नेपालकाे नेतृत्वमा तीन सदस्यीय कार्यदल बनेकाे र नेम्वाङ पनि सदस्य रहेकाे समाचारमा आएको थियो।

उनले व्यक्तिगत कुरा लिएर संविधान संशोधनको कुरा अगाडि बढाउन नहुने बताए। संविधान संशोधन जस्तो गम्भीर कुरालाई जिम्मेवारी पूर्वक अगाडि बढाउनुपर्नेमा कुनै व्यक्तिगत कुराका लागि यस्तो प्रस्ताव ल्याउन नहुने नेम्वाङको भनाई छ। एउटा जिम्मेवार पार्टीले यस्तो निर्णय गर्न नसक्ने नेम्वाङको भनाई छ।

उनले भने, ‘संविधान संशोधन जस्तो कुरा साह्रै गम्भीर हो। यसलाई जिम्मेवारी पूर्वक अगाडि लैजानु पर्छ। यो एकदमै पारदर्शी हुनुपर्छ र यो आवश्यकता र औचित्यको आधारमा हुनुपर्छ। यो व्यक्तिगत कुरा होइन। हामीले यो भन्दा अगाडि एउटा समयकालमा अहिले संविधान संशोधन तिर जाने होइन पहिला त संविधान कार्यान्वयन गर्नुप¥यो भनेका थियौं। पछि संघको चुनाव भयो, संघीय संसदको, प्रदेशको चुनाव भयो त्यसपछि हामीले भन्न थाल्यौं। अब आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन सक्छ। किनभने आधारहरु तयार भयो। तर त्यो आवश्यकता र औचित्य स्थापित भएको हामीले अहिलेसम्म ठानेनौं।’

मधेशवादी दलहरुसँग विभिन्न समयमा संविधान संशोधनका विषयमा कुराकानी हुँदा समेत तत्काल संशोधनको औचित्य नभएको बताउँदै आएको अवस्थामा अहिले सचिवालयले यस्तो निर्णय नगरेको विश्वास आफूले गरेको बताए। पार्टीका महासचिव विष्णु पौडेलसँग कार्यदलका विषयमा बुझ्दा उनले सचिवालयमा कुनै निर्णय नभएको जानकारी गराएको समेत नेम्वाङले बताए।

नेम्वाङले कार्यदलमा सदस्य रहेको विषयमा आफूलाई औपचारिक जानकारी नभएको समेत बताएका छन्। कार्यदल बनेको विश्वास आफूलाई नलागेको उल्लेख गर्दै उनले भने, ‘मलाई पार्टीको तर्फबाट कसैले पनि सम्पर्क गरेका छैनन्, जानकारी गराएका छैनन्। यस्तो कार्यदल बन्यो होला भन्नेमा मलाई विश्वास छैन्। पछिल्लो समयमा आएर स्वयं पार्टीका महासचिवले यसबारेमा कुनैपनि निर्णय नभएको जानकारी पनि गराउनुभयो। सचिवालयमा कुरा चाँही आएको हो तर औपचारिक रुपमा यसो गर्ने समझदारी छैन भन्ने कुराहरु पनि आए जसले अन्यौल बढायो। आज बिहान माधव नेपालसँग पनि कुराकानी भएको थियो। बिहान ११ बजे खिमलाल देवकोटा जी र म दुबै जना उहाँसँग कुराकानी गर्न गयौँ। उहाँ (खिमलाल देवकोटा) ले र मैले आफ्नो कुराहरु राख्यौँ। समग्र सञ्चार माध्यममा आएका कुराहरु सहि हुन् भन्ने लाग्दैन।’

नेम्वाङले संविधान संशोधनको कुरा पारदर्शी ढंगले अगाडि बढ्नुपर्ने समेत बताएका छन्। देश, जनता र पार्टीका कार्यकर्ताहरुले समेत बुझ्ने गरी यस्ता कुराहरु अगाडि बढाउनुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad