सांसदहरूले होटल हायातमा रहेको तारा गाउँ विकास समितिको जग्गासम्बन्धि विवाद टुंगो लगाउने गरी तत्काल कार्ययोजना ल्याउन सरकारसँग माग गरेका छन्।
लामो समयदेखि विवादमा रुपमा रहेको सो जग्गा लिजमा दिने क्रममा तत्कालीन प्रधानमन्त्री, मन्त्रीहरुले पनि ठूलो घोटाला गरेको हुनसक्ने निष्कर्ष निकाल्दै सांसदहरुले सो समस्याको तत्काल निरुपण हुनेगरी कार्ययोजना तत्काल बनाउन सरकारसँग माग गरेका हुन्।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सो जग्गा लिजमा लिने क्रममा ठूलो घोटाला भएको हुनसक्ने जिकिर गर्दै सो सम्बन्धि विवाद टुंगो लगाउने गरी कार्ययोजना तत्काल बनाउन सरकारसँग माग गरे।
उनले हायात होटेलले १५० रोपनी सरकारी जग्गा हडप्ने प्रयास गरिरहेको भन्दै त्यसलाई रोक्ने उपायको खोजी गर्न पनि सरकारलाई दबाब दिए।
‘यी सबै कुरामा दुरुपयोग कतिको भइरहेको छ? तारा गाउँको सन्दर्भमा खासगरी अहिले जुन कुरा उठेको छ। यो बौद्धमा रहेको जग्गाको बारेमा। त्यो हायात हाटेलले लिन चाहिराखेको छ, भनौं हडप्न खोजेको छ। एकलौटी बनाउन खोजेको छ। राज्यको सेयर घटाउँदै घटाउँदै लिएर गइराखेको छ। २२ प्रतिशतबाट नौ प्रतिशतमा झारिसकेको छ। मुनाफा कति भइराखेको छ, राज्यलाई देखाउने कति गरिएको छ? राज्यले कति लाभांश पाउने गरेको छ? यी कुराहरू पनि छन्। त्यसकारण यी सबै कुरालाई ध्यान राख्नुपर्ने आवश्यकता एकातिर छ भने अहिले आएको १५० रोपनी जग्गाको कुरा यो सबैको सन्दर्भमा वास्तवमा सरकारकै दृष्टिकोण के हो त? तारा गाउँ विकास समितिसँग सबै रिपोर्ट लिएर सरकारले सो सम्बन्धि धारणा बनाओस्। मन्त्रालयले के प्रश्ताव राख्न खोजिराखेको छ, त्यो पनि ल्याओस्।’
सत्तारुढ नेपाली कांग्रेसका सांसद नारायणप्रकाश (एनपी) साउदले सरकार फेरिँदैपिच्छे दोहन गर्ने वस्तुको रुपमा सरकारी जग्गालाई उपयोग गर्ने गरिएको भन्दै आपत्ति जनाए।।
उनले जग्गा लिजमा दिने विषयमा सरकारले तत्काल कानून बनाएर अघि बढ्नुपर्ने पनि बताएका छन्।
‘यसका बारेमा हात हाल्ने हो भने दिगो र भरपर्दो किसिमले कानुन समेत सरकारलाई तुरुन्त बनाउँ। र त्यसपछि मात्रै यो कानुनमा टेकेर यो तारा गाउँ विकास समितिमा मात्रै होइन, अर्को ठाउँमा पनि सार्वजनिक जग्गा होला। कुनै संस्थाको जग्गा होला। धेरै ठाउँमा तपाईंहरुले देख्नुभयो भने कौडीको मूल्यमा नेपालका कयौं जमिनहरु बेचिएका छन्,’ साउदले भने।
सत्तारुढ नेकपा (एमाले)का सचिव एवं पूर्वपर्यटनमन्त्री भीमप्रसाद आचार्यले हायात होटलले सरकारी जग्गा हडप्न खोजेको आरोप लगाउँदै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारलाई सचेत गराए।
‘यसमा मन्त्रालयले स्पष्ट कार्य योजना बनाउनु पर्छ। हामीले कति महिना भित्र के काम गछौँ? भन्ने आयो भने बल्ल त्यसमा यो समितिले छलफल गर्न उपयुक्त हुन्छ। होइन भने बैठक बस्ने र त्यही पिङ मच्चाएजस्तो त्यही श्रृखंला दोहो¥याउने काम गर्नुहुन्न,’ उनले भने।
आचार्यले अघि भने, ‘बरु ३, ४ दिन समय दिने काम गरौं। सरकारले कार्ययोजना लिएर आओस्। यसमा धेरै दिन पनि लाग्दैन। किनभने हाम्रो जुन सरकारी सम्पत्ति हडप्न खोजिएको छ। त्यो फिर्ता ल्याउनुपर्छ।’
सांसदहरुले सो जग्गा घोटाला प्रकरणमा संलग्न देखिएको तत्कालीन प्रधानमन्त्री र पर्यटनमन्त्रीहरुलाई पनि छानविनको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सार्वजनिक जग्गा बेचेर कमिसन खाने प्रधानमन्त्री, मन्त्री र सम्बन्धित सबै अधिकारीहरुलाई सरकारले तत्काल छानविनको दायरामा ल्याउनुपर्ने बताए।
उनले गुठीको जग्गा, गोकर्ण रिसोर्टमा रहेको सरकारी जग्गा पनि कौडीको मूल्यमा बिक्री वितरण हुने काम गरिएको भन्दै आपत्ति जनाए।
‘सरकारी सम्पत्ति किन बेचेको हो? कमिसन खाने को हो? त्यसकारण यो विषय सभापतिज्यु कडा निर्देशन जानुपर्छ। र अर्को यसमा गुठी संस्थानको पनि यस्तै अलमल छ। गुठीको जग्गा पनि यसरी नै हिनामिना भइरहेको छ। यो गोकर्ण रिसोर्टका ३ हजार रोपनी जग्गा पनि यसरी नै गएको छ त?,’ सुवालले भने, ‘त्यसकारण यसको छानविन हुनुप¥यो। र पहिला एउटा स्थलगत अनुगमन गर्नुप¥यो। पूर्वमन्त्रीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुन तस्करको कब्जामा छ भन्ने पनि सुनियो। भनेपछि मन्त्री भएकाहरुलाई त्यो कुरा थाहा छ। मन्त्री र प्रधानमन्त्रीहरुलाई पनि यो विषयमा छानविनको दायरामा ल्याउनुपर्छ।’
Shares
प्रतिक्रिया