सरकारले जारी संसद्को वर्षे (बजेट) अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार, भदौ ३१ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्ने गरी सिफारिस गर्ने निर्णय भएको हो।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।
सोहीअनुसार सरकारले राष्ट्रपतिसमक्ष अधिवेशन अन्त्यको सिफारिस गरेको हो।
गत वैशाख २८ गते यो अधिवेशन सुरू भएको थियो।
सरकारका नीति तथा कार्यक्रम र बजेट यही अधिवेशनले पारित गरेको थियो। बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक पनि यही अधिवेशनबाट पारित भएको थियो।
पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबीच विवाद चुलिँदै जाँदा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सदन अवरोधको नीति लिएको थियो। सत्तापक्षले उपसभामुख इन्दिरा रानालाई हटाउने भनेपछि द्वन्द्व झन् चुलिएको थियो।
Shares
प्रतिक्रिया