परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बद्ध सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने बताएकी छन्।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ भनिन्, ‘बीआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ। हाल यसको कार्यान्वयन योजनाबारे छलफल जारी छ। यो नेपाल र चीनबीचको सहमति र समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिका आधारमा कार्यान्वयन हुनेछ।’
मन्त्री डा राणाले अहिले नेपाल ऋण लिने अवस्थामा नरहेकाले चीन सरकारसँग यसै विषयमा छलफल भएको बताइन्।
उनले भनिन्, ‘यो परियोजना अनुदानमा कार्यान्वयन गर्न नेपाली कांग्रेसले औपचारिक निर्णय गरिसकेको छ। यो सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)लाई अवगत छ। अनुदानमा नै यो परियोजना कार्यान्वयन गर्न हामीले छलफलहरू गरिरहेका छौँ।’
भिडिओ:
नेपाल र चीनबीच सदियौँदेखि घनिष्ठ सम्बन्ध रहेको र यो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाई जनस्तरमा विस्तार गर्न दुई देशबीच समय–समयमा हुने उच्चस्तरीय भ्रमणको आदानप्रदानले महत्त्वपूर्ण योगदान भएको र आफ्नो यो भ्रमण पनि त्यसैको निरन्तरता भएको उनको भनाइ थियो।
आफ्ना चिनियाँ समकक्षीसँग शुक्रबार भएको भेटवार्ता द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा केन्द्रित रहेको उनले जानकारी दिइन्।
दुवै देशमा विद्यमान अवसर र सम्भावनाहरूलाई आपसी हितका लागि भरपूर सदुपयोग गर्दै सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल भएको उनको भनाइ थियो।
चिनियाँ विदेशमन्त्रीसँग आफूले चीनसँगको व्यापार, पर्यटन, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक– सामाजिक साझेदारी वृद्धिमा जोड दिएको जानकारी पनि उनले दिइन्।
चिनियाँ पक्षले पनि प्रस्तुत धारणाप्रति सकारात्मक जवाफ दिएको जानकारी परराष्ट्रमन्त्रीले दिइन्। साथै उनले द्विपक्षीय सम्झौता तथा समझदारीहरूलाई तदारुकताका साथ कार्यान्वयन गर्ने सहमति उनको भनाइ थियो। यो भ्रमणबाट आपसी विश्वास अभिवृद्धि गर्न मद्दत पुगेको परराष्ट्रमन्त्री राणाले विश्वास व्यक्त गरिन्।
उनको भनाइ थियो, ‘दुई देशको परास्परिक सम्बन्धलाई कसरी अघि बढाउने, भइरहेका कामहरू कसरी निरन्तरता दिने भन्नेमा धेरैजसो छलफल भयो। यसमा व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल, आर्थिक, सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित हुनुपर्छ भन्ने हाम्रो धारणा राखियो। नेपालको स्वाधीनतालाई सहयोग गर्ने, स्वतन्त्रतामाथि सहयोग गर्ने कुरा राख्नुभयो। हामीले पनि एक चीन नीतिमा सहयोग गर्ने प्रतिबद्धता जनायौँ। ट्रान्स हिमालयन मल्टी डाइमेस्नल कनेक्टीभिटी नेटवर्क रहेको छ, नेपालको बारेमा धेरै परामर्श भयो। यसलाई अगाडि बढाउने कुरा चल्यो। विभिन्न आयामहरूमा विगतका प्रधानमन्त्रीज्यू, परराष्ट्रमन्त्रीज्यूहरूको भ्रमणमा भएका प्रोजेक्टहरूको बारेमा रिन्यु गर्नुपर्छ भन्यौँ। उहाँहरूले यसलाई पोजिटिभ्ली नै लिनुभयो। तपाईंहरूले पनि इन्टरनल होमवर्क गरेर आउनुस्, हामी पनि इन्टरनल होमवर्क गर्छौं, कुनकुनमा सहयोग गर्ने, हामी पनि छलफल गर्छौं भन्नुभयो। नेपालको तर्फबाट अहिले हामीले लोन लिन सक्ने अवस्थामा छैनौँ। हामी एकदमै ग्रान्ट तपाईंहरुबाट प्राप्त हुने आशामा छौँ भन्ने कुरा राख्यौँ। देशभित्रको परिस्थितिका कारण लोन लिन सक्ने परिस्थिति छैन भन्ने कुरा उहाँलाई स्पष्ट राखेँ। उहाँले यो कुरा राम्रोसँग सुनिदिनुभयो। अब आउने भ्रमणमा अझ कुराहरु अघि बढ्छ।’
Shares

प्रतिक्रिया