राजनीति


रविलाई राति नै पुर्‍याइयो पोखरा

रविलाई राति नै पुर्‍याइयो पोखरा

फाइल तस्बिर


नेपालखबर
मंसिर २०, २०८१ बिहिबार ७:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट राति नै पोखरा पुर्‍याइएको छ। 

सहारा चितवन सहकारी ठगी प्रकरणमा चितवन प्रहरीले सरकारी वकिलसमक्ष बयान लिइसकेपछि प्रतिनिधि सभा सदस्यसमेत रहेका रविलाई गएराति नै पुनः कास्की जिल्ला प्रहरीको हिरासतमा लगिएको हो।  

कास्की प्रहरी प्रवक्ता, डीएसपी वसन्तकुमार शर्माले रास्वपा सभापति लामिछानेलाई नै राति नै पोखरा ल्याइएको जानकारी दिए।  

सरकारी वकिलको कार्यालय चितवनमा बुधबार राति साढे ९ बजे बयान सकिएपछि रविलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा लगिएको थियो। त्यसपछि उनलाई गाडीमार्फत पोखरा पुर्‍याइएको हो। 

पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको मुद्दामा कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीबारे बयान लिन यही मंसिर १३ गते काठमाडौँ ल्याइएको थियो। 

कालीमाटी मुख्य कार्यालय राखेर काठमाडौँका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालन गरेको स्वर्णलक्ष्मीको बचत गैरकानुनी रूपमा परिचालन र ठगीमा संलग्न रहेको आरोपमा रविसँग काठमाडौँ प्रहरीले मंसिर १४ देखि १७ गतेसम्म राखेर ३ दिन (बीचमा एक दिन शनिबार परेको थियो) बयान लिएको थियो।

यसपछि उनलाई मंसिर १८ गते (मंगलबार) बिहानै चितवन पुर्‍याइएको थियो। त्यहाँ जिल्ला सरकारी वकिल कार्यालय, चितवनका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको रोहवरमा जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत ज्ञानकुमार महतोले रविसँग मंगलबार र बुधबार गरी २३ घण्टा बयान लिएका थिए।

गत कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा (कास्की) लगिएका लामिछानेलाई जिल्ला अदालत कास्कीले पछिल्लो (पाँचौँ) पटक मंसिर ९ गते १५ दिन हिरासत म्याद थपेको थियो। उक्त म्याद अब मंसिर २३ गते सकिँदै छ। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
    ad ad