नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताएका छन्।
सरकारमा सहभागी दुई ठूला राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताए। उनले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने बताए।
‘अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ,’ उनले भने, ‘केही दिनभित्रमा नेपाली कांग्रेस र नेकपा एमालेले एउटा संयन्त्र बनाउँछ। यसलाई पनि सम्हाल्छौँ। धेरै एड्भेन्चर गर्ने ठाउँ छैन। यसलाई सम्हालेर कांग्रेस र एमालेले अहिले आफ्नो बीचमा न्युनतम संविधानमा चलाउनुपर्ने, चलाउनसक्ने विषयमा समझदारी कायम गर्छौं, त्यसपछि अरु राजनीतिक दलहरुसँग संवाद गर्छौं।’
एमाले र कांग्रेले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने उनको भनाइ छ।
‘यो संविधान भनेको कांग्रेस र एमालेले चाहेर मात्रै संशोधन हुनेकुरा होइन,’ उनले भने, ‘माओवादी, मधेसका अरु दलहरुसँग संवाद गर्छौं। दलहरुको बीचमा समझदारी बनाउँछौँ। न्यूनतम कुराहरु संशोधन गर्छौं। संसद समावेशी छ, अझैं यो भन्दा बढी समावेशी बनाउने हो। क्याबिनेट समावेशी छैन, समावेशी बनाउने हो। सँगै एउटा राजनीतिक दलले एउटा निर्वाचनमा जाँदै गर्दा एकदमै लोकप्रिय समर्थन गरेको बेलामा पनि अर्को एउटा सानो दलसँग टाँसिनै पर्ने जुन अहिलेको बाध्यता छ, त्यो बाध्यताबाट हाम्रो संविधानलाई बाहिर निकाल्नुपर्नेछ। एउटा अवधि एउटा राजनीतिक दलले सरकार चलाउन पाउने अवस्था बनाउनुपर्नेछ। यस्ता केही विषयहरु छन्, जुन कुरामा हामी संविधान संशोधन गर्नेकुरामा प्रवेश गर्दछौँ। छलफल गर्छौं तर सम्हालेर गर्छौं।’
महामन्त्री थापाले ०८४ को निर्वाचनमा जाँदै गर्दा ०८१/०८२/०८३ को जिम्मेवारीबाट भाग्न नहुने बताए। उनले यो अवधिमा आफूले गरेका कामहरुको फेहरिस्त बोकेर जनतासँग जानसक्ने हैसियत बनाउनुपर्नेमा जोड दिए।
नेपाली कांग्रेस र नेकपा एमालेको अहिलेको सरकारलाई अवसरका रुपमा लिएर आगामी निर्वाचनमा कांग्रेसले आफूले गरेका कामहरुबाट जनतालाई प्रभावित बनाइ निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने उनको जिकिर छ।
संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा pic.twitter.com/PouV7kuGjR
— Nepalkhabar (@nepalkhabar) December 22, 2024
Shares

प्रतिक्रिया