राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राति नै पक्राउ गरिएकाप्रति संविधानविद् डा. भीमार्जुन आचार्यले असन्तुष्टि जनाएका छन्।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा १ करोड धरौटीमा छाड्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार थुनामै पठाउन आदेश दिएपछि पूर्वगृहमन्त्री लामिछानेलाई प्रहरीले त्यही राति पक्राउ गरेको थियो।
रातभर काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएका रविलाई आज रुपन्देही लगिँदै छ।
यसरी रातारात गरेर पक्राउ गर्नु बेठीक भएको तर्क संविधानविद् आचार्यले गरेका हुन्।
‘अदालतको आदेशको पालना र कार्यान्यन हुनुपर्नेमा त कुनै द्विविधा छैन’, आचार्यले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘तर, लोक कल्याणकारी राज्यले आफ्नो नागरिकलाई पक्रन रातिकै समय किन रोज्छ? के टेक्स्ट र एक्सनमा हाम्रो संगति कहिल्यै नहुने हो?’
शुक्रबार राति रवि पक्राउ पर्दाको भिडिओ:
यसअघि गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका थिए। तर सोही प्रकरणका अर्का अभियुक्त छविलाल जोशीलाई भने थुनामा पठाउन आदेश दिएको थियो।
यसपछि सरकारी वकिल कार्यालयले रविलाई पनि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दिएको थियो। यसमा सुनुवाइ गर्दै उच्च अदालतले शुक्रबार रविलाई थुनामा पठाउन आदेश दिएको हो।
अदालतको आदेशलगत्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
अब उनलाई रुपन्देही लगिनेछ।
सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ।
उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ। रवि, छवि र जीबीले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ। जीबी राई भने फरार छन्।
Shares

प्रतिक्रिया