नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ताका माध्यमबाट शिक्षकहरूका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन्।
बिहीबार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्। उनले आफू मन्त्रालयमा प्रवेश गरेको र समस्याको बारेमा जानकार रहेको बताए। उनले समस्या समाधानका लागि मन्त्रालयले कस्तो प्रयास गरिरहेको छ भन्नेबारेमा बुझेर थप निर्णय लिने जानकारी दिए।
वार्ताका माध्यमबाट समस्या समाधान गर्नेमा आफ्नो ध्यान केन्द्रित हुने बताए।
मन्त्री पन्तले अब बोल्ने भन्दा काम गर्ने समय आएको बताए।
उनले भने ‘भर्खर मन्त्रालयमा प्रवेश गरेको छु। यो समस्याको बारेमा जानकार त छु। तर मन्त्रालयको प्रशासन, अरु साथीहरूले विभिन्न कारणले जुन प्रकारले वार्ता गरिरहनुभएको छ। म उहाँहरूलाई त्यसको लागि धन्यवाद दिन चाहन्छु, त्यो सबै विषयमा मैले राम्रोसँग जानकारी लिइसकेको छैन। त्यसबारेमा राम्रोसँग जानकारी नलिकन विचार व्यक्त गर्नु उपयुक्त हुँदैन। भइरहेका प्रयत्नहरु बुझौँ अनि भन्न सकिन्छ। अब बोल्ने भन्दा पनि काम गर्ने समय आएको छ। म वार्ताबाट समस्याको समाधान गर्ने प्रयत्न गर्दछु। मेरो सम्पूर्ण ध्यान त्यसमा केन्द्रित हुनेछ।’
Shares

प्रतिक्रिया