राजनीति


पीपीई जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह

पीपीई जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह

नेपालखबर
चैत २२, २०७६ शनिबार १४:३३,

सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पीपीई) को चिकित्सक र स्वास्थ्यकर्मीलाई जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीलाई पिपिइ अत्यावश्यक काममा मात्र प्रयोग गर्न आग्रह गरेका हुन्।

उनले पीपीई धेरै नभएकाले बिरामीलाई मात्र समुचित प्रयोग गर्न आग्रह गरेका हुन्। मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोभिड– १९ को संक्रमण दिनप्रतिदिन देखिन थालेकाले नमूना परीक्षणको दायरासमेत बढाइ क्वारेन्टिन अवधि बढाइने जानकारी दिए।

आज कैलालीमा दुई जना र कञ्चनपुरमा एक जना थप सङ्क्रमित देखिएका हुन्। कैलालीमा दुई जनामध्ये एक जना महिला पहिले संक्रमित रहेको परिवारका सदस्य रहेको उनले बताए।

‘महिला बाहिर कहीँबाट आएको देखिँदैन। पहिले धनगढीमा देखिएको परिवारका सदस्य हुन्’ उनले भने।

उनका अनुसार संक्रमण देखिएका तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनले एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण बढ्न नदिन क्वारेन्टिनमा बस्न सर्वसाधारणलाई आग्रह गरे। उनले स्थानीय मानिसमा पनि संक्रमण देखिएकोले क्वारेन्टिनको अवधि बढ्ने बताए।

डा. देवकोटाका अनुसार अहिलेसम्म एक हजार ४४१ को नमूना परीक्षण भएको छ भने १५ जना काठमाडौँमा र ५४ जना उपत्यका बाहिर आइसोलेसनमा रहेका छन्। यसैगरी मन्त्रालयको दुई वटा कल सेन्टरमा आज मात्र तीन हजार ४६५ जनाले प्रश्न सोधेका छन्।

यसैगरी मन्त्रालयको वेबसाइट र मोबाइल एपमा राखिएको कोभिड– १९ को फाराम आफैँले भरेर पठाउने ६ हजार ५२७ जनामध्ये १२६ लाई रेड जोनमा राखिएको छ। परीक्षणका क्रममा ती मानिसमा ज्वरो, रुघाखोकी आउने गरेको उनले बताए। यसैगरी चितवन र बुटवलमा भोलि आइतबारदेखि कोभिड– १९ परीक्षण गरिनेछ। जनकपुर, हेटौँडा, धरान, पोखरा, धनगढी र सुर्खेतबाट यसअघि नै परीक्षण गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad