राजनीति


संसद् खुलाउनेबारे विपक्षीको निर्णय कुर्दै सभामुख

संसद् खुलाउनेबारे विपक्षीको निर्णय कुर्दै सभामुख

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १३:१३, काठमाडौँ

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको दाबीसहित लगातार प्रतिनिधिसभाको बैठक‍ अवरोध गर्दै आइरहेका प्रतिपक्षी दलहरू अहिले पनि छलफलमै छन्। दिउँसो १ बजे डाकिएको प्रतिनिधिसभाको बैठक उनीहरूले ठोस निर्णय नगर्दा अझै सुरु हुन सकेको छैन।  

प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन र मन्त्रीको राजीनामालाई बटमलाइन बनाउँदै आइरहेका छन्।  

यसबारे आगामी रणनीति के हुने भन्ने टुंगो लगाउन अहिले प्रतिपक्षी दलका नेताहरू छलफलमै रहेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए। 

'हामी छलफलमै छौँ।  उच्चस्तरीय छानबिन समितिको अडानबाट हामी पछि हटेका छैनौँ' पाण्डेले बैठकस्थलबाट नेपालखबरसँग भने, 'छानबिन समिति बनाउन तयार भए गृहमन्त्रीलाई बोल्न दिने कि भन्नेबारे छलफल गरिरहेका छौँ।'

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रतिपक्षीहरू आफ्ना मागबारे अडिक रहेको दाबी गरे। 
माओवादी गृहमन्त्रीको राजीनामाबाट पछि हटेको हो? भन्ने प्रश्नमा परियारले भने, 'हामी छलफलमै छौँ। बाहिर आएका हल्ला मात्रै हुन्।'

सभामुख देवराज घिमिरेका सञ्चारविज्ञ शेखर अधिकारीले विपक्षी दलको निर्णयको पर्खाइमा सभामुख रहेको बताए। 
'हिजोको बैठक सत्तापक्ष र प्रतिपक्ष दुवैले सकारात्मक भएको भनेपछि सभामुखले सदन सञ्चालनको वातावरण बनाउन समय दिनु भएको हो,' उनले भने, 'विपक्षी दलका नेताहरू माओवादी संसदीय दलको कार्यालयमा बैठक बसिरहेको सूचना छ। उहाँहरूको सकारात्मक निर्णयको पर्खाइमा सभामुख हुनुहुन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad