राजनीति


अनेरास्ववियुको निर्वाचन प्रक्रिया आज सुरु हुने

अनेरास्ववियुको निर्वाचन प्रक्रिया आज सुरु हुने

नेपालखबर
जेठ २६, २०८२ सोमबार ९:५६, काठमाडौँ

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व चयन प्रक्रिया आज सुरु हुँदै छ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा आइतबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको २४ औँ महाधिवेशनमा अहिले बन्दसत्र चलिरहेको छ।

३२ वर्षे उमेर हद लागु भएपछि अनेरास्ववियुले पहिलोपटक नयाँ नेतृत्व चयन गर्न लागेको हो। 

आइतबार उद्घाटन सत्र सकिएलगत्तै प्रस्तुत भएका राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्न १० समूह बनाइएका छन्। आज ती प्रतिवेदनमाथिको समूहगत छलफल सकेपछि निर्वाचन प्रक्रिया सुरु हुने अनेरास्ववियुले जनाएको छ। 

उमेरहदका कारण यसअघिको कमिटीका १७ पदाधिकारी र तीन आयोग प्रमुखमध्ये १५ जना संगठनबाट बाहिरिँदैछन्। 

अब अनेरास्ववियुको नयाँ नेतृत्व सचिव तहबाट आउने देखिएको छ। 

वर्तमान महासचिव नरेश रोकाया, उपाध्यक्षहरू नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरीलगायतले अध्यक्षमा उठ्न नपाउने भएका हुन्।

यस्तै हाल सचिव रहेकाहरू दीपक धामी, सुजन कडरिया, अञ्जना शिवाकोटी, आरती भट्टराई, प्रकाश पौडेललगायतले अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। 

यही जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा ३२ वर्ष उमेर हद लागु गर्ने निर्णय गर्दै परिपत्र गरेको थियो। 

यसअघि नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारीले ३२ वर्षे उमेर हद लागु गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad