प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण सफल र फलदायी बताइएको छ।
संयुक्त राष्ट्र संघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी भएर शुक्रबार फर्किएका प्रधानमन्त्री ओलीको भ्रमणबारे परराष्ट्रसचिव अमृतबहादुर राईले पत्रकारहरूलाई जानकारी गराउँदै त्यस्तो दाबी गरेका हुन्।
‘उहाँले विकासका लागि वित्त सम्मेलनमा व्यक्त भएका प्रतिबद्धताहरू कार्यान्वयनका लागि ठोस कदम चाल्न तथा वित्तीय खाडल न्यूनीकरणका लागि व्यावहारिक कार्ययोजना अघि सार्न विश्व समुदायलाई आह्वान गर्नुभयो,’ भ्रमणबारे जानकारी दिँदै उनले भने, ‘सम्मेलनका क्रममा सम्माननीय प्रधानमन्त्रीले खानेपानी तथा सरसफाइका लागि वित्तीय स्रोत परिचालनका लागि राष्ट्र प्रमुख स्तरीय अभियानको सम्मेलनलाई सम्बोधन गर्दै नेपाल खानेपानी तथा सरसफाइ उक्त अभियानमा समावेश भएको घोषणा भएको पनि गर्नुभयो। साथै नेपालको संविधानले स्वच्छ खानेपानीको लागि मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै स्वच्छ खानेपानी तथा सरसफाइ लगायतका आधारभूत सेवाहरू प्रदान गर्न सरकार प्रतिबद्ध रहेको कुरा बताउनुभयो।’
सचिव राईले स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता गरेको पनि जानकारी दिए। स्पेनका नरेश फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गरेको जानकारी राईले दिए।
त्यस्तै प्रधानमन्त्री ओलीले सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसंघीय निकायका प्रतिनिधिसँग समेत भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री ओली राष्ट्रसंघका महासचिवको निमन्त्रणमा गत असार १४ गते स्पेनतर्फ प्रस्थान गरेका थिए। ६ दिने भ्रमण पूरा गरेर फर्किएका ओलीको टोलीमा उनकी पत्नि राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मन्त्रालयका अधिकारीहरू थिए।
भ्रमणपछि जारी गरिएको प्रेस नोट
Shares

प्रतिक्रिया