भूमि विधेयकमा लफडा पर्ने भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरे। ओलीले बालुवाटारमै बसेर छलफल गरौँ भनेर प्रस्ताव राखे।
देउवा तयार भए। उनी उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकलाई साथै लिएर पुगे।
केही विषयमा छलफल गर्ने भनेर देउवाले फोनमै भनिसकेकाले ओलीले पनि महासचिव शंकर पोखरेल र आफ्ना मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाललाई साथमै राखे।
६ जनाबीचको बैठक एक घण्टाभन्दा बढी चलेको थियो। कांग्रेस उपसभापति खड्काले उच्चस्तरीय राजनीतिक समितिको बैठक बसेको बताए।
‘संयन्त्रको बैठक नबसेको धेरै भएको थियो। त्यही भएर बालुवाटारको बैठक नियमित हो,’ उनले भने।
ओलीले नै निकाले पूर्वराष्ट्रपति भण्डारीको प्रसंग
ओली लामो कुरा गर्न रुचाउँछन्, तर देउवा सकभर थोरै बोलेर आफ्ना कुरा राखेर हिँड्न खोज्छन्। तर, यसपटक ओलीको कुरा सुन्ने मुडमा थिए देउवा।
उच्चस्तरीय राजनीतिक समितिका सदस्य समेत रहेकाले उक्त छलफललाई औपचारिक बनाइयो। भूमि विधेयक, प्राकृतिक विपत्ति, केही राजनीतिक नियुक्ति, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबारे छलफलको विषय बनाइयो।
ओलीले सुरुमै आफ्नो स्पेन भ्रमणबारे बताए।
असार १४ गते स्पेनको सेभियामा भएको ‘इन्टरनेसनल कन्फ्रेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स (एफएफडी–४) मा सहभागी भएका उनी असार २० गते स्वदेश फर्किएका थिए।
भ्रमणमा भएका कुरा ओलीले सुनाएर कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको विषयमा चासो राखे। असार १६ गतेदेखि बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार २३ गते सकिएको हो।
‘तपाईंहरूको पार्टीको बैठक पनि हाम्रो पार्टीको जस्तै लामो हुन थालेछ नि?’ ओलीले सोधे, ‘थुप्रै विषयमा छलफल भएछ? पूर्वराष्ट्रपतिको विषयमा पनि छलफल भएछ होइन?’
बोल्न खोज्ने नेतालाई समय दिँदा लामो समयसम्म बैठक चलेको देउवाले जवाफ दिए। भण्डारीका विषयमा आफू प्रस्ट हुन खोजेको देउवाले बताए।
भण्डारीले असार १४ गते एमालेमा सक्रिय हुने घोषणा गरेकी हुन्। एमालेको सदस्यता समेत नवीकरण गरेको उनले सोही कार्यक्रममा खुलासा गरेकी थिइन्।
एमालेमा फर्किएर राजनीति गर्ने भण्डारीको निर्णयबारे मुख नखोलेका प्रधानमन्त्री ओलीले देउवासहितको बालुवाटार बैठकमा चासो राखेका हुन्।
छलफलमा सहभागी कांग्रेस उपभापति पूर्णबहादुर खड्काकाका अनुसार पूर्वराष्ट्रपति भण्डारीका विषयमा पार्टीभित्र गम्भीर रूपमा कुरा उठेको देउवाले प्रधानमन्त्री ओलीलाई सुनाए।
‘हाम्रो केन्द्रीय कार्यसमितिका साथीहरूले विद्या भण्डारी राजनीतिमा आएको विषय गम्भीरतापूर्वक उठाउनुभयो,’ खड्काले भने, ‘छुट्टै एजेन्डाको रूपमा नभई हाम्रो पार्टीको केन्द्रीय कार्यसमिति बैठकबारे प्रधानमन्त्रीले चासो राखेपछि सो कुरा भएको हो।’
कांग्रेस कार्यसमिति बैठकमा बोल्ने केही नेताहरूले भण्डारीको राजनीतिमा पुनरागमनप्रति असन्तुष्टि जनाएको उनले बताए।
महामन्त्री विश्वप्रकाश शर्मा, विमलेन्द्र निधिले सक्रिय राजनीतिमा भण्डारीको आगमनलाई समर्थन गर्न नसकिने धारणा राखेका थिए।
यस्तै, केन्द्रीय सदस्य गोविन्द पोखरेलले भण्डारी राजनीतिमा आउनुले फेरि वाम एकता हुने सम्भावना रहेको बताएका थिए।
‘विद्या भण्डारी फेरि राजनीतिमा आउनु राम्रो वा नराम्रोको कुरै भएन, हाम्रो पार्टीमा कुरा प्रशस्तै उठ्यो,’ खड्काले थपे, ‘संरक्षकका रूपमा राष्ट्रपतिलाई स्वीकारेको सन्दर्भमा पूर्वराष्ट्रपति राजनीतिमा जाने कुरामा कांग्रेसका नेताहरूले ठीक र राम्रो होइन भनेर बोल्नुभएकै छ।’
यही कुरा ओलीलाई जानकारी गराएको खड्का बताउँछन्।
बैठकका सहभागी गृहमन्त्री रमेश लेखकले भने राष्ट्रपतिको चर्चा भएको विषय खुलाउन चाहेनन्।
‘त्यस्तो त केही होइन, त्यहाँ विपत्तिको बारेमा धेरै कुरा भएको हो,’ उनले भने।
उपसभापति खड्काले देउवाले भण्डारीलाई रोक्नुपर्छ भनेर नबोलेको दाबी गरे।
‘सभापतिजीले छुट्टै केही भन्नुभएन,’ उनले भने, ‘केन्द्रीय कार्यसमिति बैठकको चर्चा गर्दा विद्या भण्डारीको विषय प्रवेश गरेको हो। समग्र विषय छलफल हुँदा कुरा उठ्यो। साथीहरूले गम्भीरतापूर्वक उठाउनुभएको छ भनेर जानकारी दिइएको मात्र हो।’
प्रधानमन्त्री ओलीले पनि पार्टीले कुनै निर्णय गरिनसकेको बताए।
कांग्रेस नेताको अभिव्यक्तिले एमाले खुसी
कांग्रेस सभापतिसहितका नेताहरूले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन दिन नहुने भनाइ राखेको भन्दै एमालेका एकथरी नेताहरू खुसी देखिएका छन्।
भण्डारीलाई ‘गणतन्त्र गौरव’ले सम्मान गरेको भन्दै त्यसको अवमूल्यन गर्न नहुने बताउँछन् एमाले प्रचार एवं प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम।
‘राष्ट्रपति भनेको गणतन्त्रको प्रतीक हो, गणतन्त्रवादीले गणतन्त्र प्रतीकको रक्षा गर्न सकेन भने हामीले कस्तो नजीर बनाउने हो? यो नागरिक तहमा बहस हुनुपर्ने विषय हो,’ उनले भने, ‘यसबारे कांग्रेसले सशक्त असहमति जनाइसकेको छ।’
एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले पनि भण्डारी राजनीतिमा आउने कुरा गम्भीर रहेको बताए।
‘कानुनी रूपले रोक्न सकिँदैन, तर राजनीतिक निर्णय पार्टीले गर्न सक्छ,’ उनले भने, ‘संविधानको संरक्षक, राष्ट्रको अभिभावक, परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा आउन लागेको विषय कांग्रेसले उठायो। हाम्रो पार्टीमा केही साथीहरूले वैयक्तिक अधिकार भने, तर पार्टीले फैसला गरिसकेका छैन, राष्ट्रिय रूपमा विषय उठ्यो।’
प्रचार विभाग प्रमुख गौतमले भण्डारीका विषयमा कांग्रेसले राखेको भनाइ निकै मननयोग्य रहेको बताए।
‘एमाले विधानमै व्यवस्था गरेर, निषेध गरेर रोक्ने कुरा हुँदैन। यस्तो अपरिपक्क निर्णय पार्टीले गर्दैन। तर विद्या भण्डारीको बारेमा औपचारिक रूपमा राजनीतिक पोजिसन लिएर दृष्टिकोण बनाउन सक्छ। वस्तुनिष्ठ र सिस्टम बनाउन पार्टी स्वतन्त्र छ,’ गौतमले थपे।
मंगलबार भएको समझदारी अनुसार भूमि विधेयकलाई बुधबारको संसदको कार्यसूचीबाट हटाइयो भने कुलपति रहेका ओलीले त्रिविको उपकुलपतिमा प्राडा दीपक अर्याललाई नियुक्त गरेका छन्।
यसअघि नै गभर्नर कांग्रेसले लिएर उपकुलपति एमालेलाई दिने ओली र देउवाबीच सहमति भएको देउवानिकट नेता बताउँछन्।
Shares

प्रतिक्रिया