राजनीति


युवालाई परराष्ट्रमन्त्री राणाको आग्रहः विदेश जानुस्, तर ज्ञान सिप लिएर फर्कनुस्

युवालाई परराष्ट्रमन्त्री राणाको आग्रहः विदेश जानुस्, तर ज्ञान सिप लिएर फर्कनुस्

नेपालखबर
साउन २७, २०८२ मंगलबार १८:२१, काठमाडौँ

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशका युवा वर्ग देशको ठूलो पुँजी भएकाले उनीहरूको ऊर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताएकी छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउन्डेसनद्वारा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माणको आधार भनेको युवा शक्ति नै भएकाले उनीहरूप्रति नै देशले भर गरेको छ भनिन्।

नेपालको जनसङ्ख्याको ठूलो हिस्सा युवाहरूको रहेकाले यही वर्गले नै मुलुकको भविष्य निर्माणमा ठूलो योगदान गर्न सक्ने उनको भनाई थियो। युवाको सम्भावना र सिर्जनशीलतालाई चिनेर देशले प्रयोग गर्न सक्नुपर्नेमा पनि उनले जोड दिइन्।

मन्त्री डा राणाले युवाहरू सबै विदेश गए, देश नै खाली भइसक्यो भन्ने जस्तो भाष्य निर्माण गरिएको प्रसङ्ग उल्लेख गर्दै भनिन्, ‘म युवाहरू विदेश जानै हुँदैन भन्ने पक्षमा छैन। म भन्छु यहाँहरू विदेश जानुस्, तर त्यहाँ ज्ञान, सीप र पुँजी आर्जन गरेर स्वदेश फर्किनुस्। हाम्रै माटोलाई समृद्ध बनाउनुपर्छ। सबै मिलेर देशको विकास गर्नुपर्छ।’

स्वदेश फर्किएका कैयौँ युवाहरूले विदेशमा आर्जन गरेको पुँजी र ज्ञान प्रयोग गरेर उद्यमशीलतालाई अघि बढाएका बताउँदै मन्त्री डा राणाले युवाहरूको यो अग्रसरतामा सरकारको सधैँ साथ र सहयोग रहने स्पष्ट गरिन्।

मन्त्री डा राणाले प्रविधि, शिक्षा, खेलकुद, उद्यम लगायतका कैयौँ क्षेत्रमा नेपाली युवाहरूले प्रतिस्पर्धा गरी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गरिरहेका प्रसङ्ग पनि उल्लेख गरिन्। नेपालीहरूले संसारमा नै परिश्रमी र इमान्दार नेपालीको पहिचान बनाएको बताउँदै उनले यसलाई पनि हामीले पुँजीका रूपमा लिनुपर्ने धारणा राखिन्।

उनले देशका युवाहरूलाई सकारात्मक सोच मात्र राख्न र विद्यालय विश्वविद्यालयमा औपचारिक अध्ययन पछि केही न केही जीवनोपयोगी सीप सिकेर दक्ष बन्न सुझाव पनि दिइन्।

मन्त्री डा राणाले भनिन्, ‘अहिले धेरै युवाहरू टिकटक लगायतका सामाजिक सञ्जालको लतमा फसिरहेको पाइन्छ। तिनको प्रयोग आफ्नो ज्ञान र सीपको दायरा बढाउने काममा मात्र गर्नुहोस्। जीवनमा नकारात्मकता फौलाउने काममा कहिल्यै नलाग्नुहोस्, यसले तपाईंहरूको जीवनमा कुनै राम्रो उर्जा दिँदैन।’

उक्त फाउन्डेसनले विगत लामो समयदेखि नेपालका विपन्न तथा अवसरविहीन बालबालिका तथा युवाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकताको सम्बोधन गर्दै व्यावसायिक सीप सिकाउँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad