राजनीति


चिनियाँ राष्ट्रपति सीसँग आज साँझ प्रधानमन्त्री ओलीको २० मिनेट भेटवार्ता

पुटिनसँग सोमबार साँझ ३० मिनेटको भेट तय
चिनियाँ राष्ट्रपति सीसँग आज साँझ प्रधानमन्त्री ओलीको २० मिनेट भेटवार्ता

फाइल तस्बिर


सीताराम बराल
भदौ १४, २०८२ शनिबार १३:४३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आजै भेटवार्ता हुने भएको छ। आजै चीनको तियान्जिन प्रस्थान गरेका प्रधानमन्त्री ओलीको आज साँझपख राष्ट्रपति सीसँग करिब २० मिनेट भेटवार्ता हुने भएको हो। 

तियान्जिन गेष्ट हाउसमा हुने भेटवार्तामा राष्ट्रपति सीले ५ः३० देखि ५ः५० सम्म समय उपलब्ध गराएको परराष्ट्र स्रोतहरूले जानकारी दिएका छन्। 

सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली आज अपराह्न  ३ बजे तियान्जिनस्थित विनहाई अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन्। ओलीलाई तियान्जिनका उपमेयर र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीलगायतले स्वागत गर्नेछन्।  

तियान्जिनमा प्रधानमन्त्री ओलीको बसोबासको प्रबन्ध विमानस्थलबाट करिब आधा घण्टा पर रहेको नदी किनारास्थित होलिडे इन होटलमा गरिएको छ। होटलमा पुगेर केहीबेर आराम गरेपछि ओली राष्ट्रपति सीसँग भेटवार्ताका लागि तियान्जिन गेष्ट हाउसतर्फ लाग्नेछन्। 

‘चिनियाँ पक्षले राष्ट्रपति सीसँग भेटवार्ताका लागि २० मिनेटको समय उपलब्ध गराएको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘अपरान्ह ५ः३० देखि ५ः५० सम्मको अवधि तोकिएको छ। ओली तियान्जिन पुग्नुहुँदासम्म कारणवस समय परिवर्तन भएन भने उहाँले त्यसैअवधिमा राष्ट्रपति सीसँग भेटवार्ता गर्नुहुनेछ।’ 

राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता प्रतिनिधिमण्डल स्तरमा हुनेछ। त्यसक्रममा प्रधानमन्त्री ओलीका साथ अन्य १२ जना नेपाली अधिकारीहरूले सहभागी हुनेछन्। 

सी–ओली भेटवार्तामा सहभागी नेपाली प्रतिनिधिमण्डलका वरिष्ठ सदस्यहरूमध्ये ८ जना अगाडिको सिटमा र चार जना पछाडिको सिटमा रहनेछन्। 

प्रधानमन्त्री ओलीका साथ अगाडिको सिटमा हुनेहरूमा पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीमा आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले नेता एवं सांसद छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली र चीन मामिला हेर्ने परराष्ट्र मन्त्रालयको उत्तर-पूर्वी महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गाना छन्।  

सीसँगको प्रधानमन्त्री ओलीको भेटवार्तामा पछिल्लो सीटमा रहने अधिकारीहरूमा प्रधानमन्त्री ओलीका प्रमुख निजी सचिव राजेश बज्राचार्य, बेइजिङस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल, दूतावासकी कन्सुलर सविता नकर्मी र परराष्ट्र मन्त्रालयका उपसचिव मनहरि दंगाल छन्। 

त्यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रधानमन्त्री ओलीको भेटवार्ता सोमबार (१६ भदौ) मा तियान्जिनमै हुनेछ। भेटवार्तास्थल तियान्जिन मेजियाङ कन्भेन्सन सेन्टर तय भएको छ।

जानकारी अनुसार सोबार साँझ ६ः४५ देखि ७ः१५ सम्म दुई शीर्ष नेताबीच भेटवार्ता हुनेछ। चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाहेक प्रधानमन्त्री ओलीको तियान्जिनमा अन्य मुलुक- कम्बोडियाका प्रधानमन्त्री र लाओसका राष्ट्राध्यक्षसँग पनि भेटवार्ता हुनेछ।

त्यस्तै आइतबार साँझ मालदिभ्सका सरकार प्रमुख मोहम्मद मुइज्जुसँग तियान्जिनस्थित मेजियाङ कन्मेन्सन सेन्टरमा ओलीको भेट तय भएको छ। त्यस्तै भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिनसँग होटल क्राउन प्लाजा, तियानजिनमा द्विपक्षीय भेट तय भएको परराष्ट्र स्रोतले जानकारी दिएको छ।   

त्यसमध्ये सोमबार (१६ भदौ) बिहान ९ः३० देखि १०ः१५ सम्म लाओसका राष्ट्रपति थोङगुन सिसोलिथसँग तियान्जिन लेक होटलमा र कम्बाडियाका राष्ट्रपति हुन मानेटसँग तियान्जिन मेजियाङ कन्भेन्सन सेन्टरमा ११ः३५ देखि १२ः०५ बजेसम्म भेटवार्ता हुनेछ।

१५-१६ भदौमा तियान्जिनमा हुने एससीओ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागिता जनाउने प्रधानमन्त्री ओली मंगलबार (१७ भदौ) मा तियान्जिनबाट बेइजिङ प्रस्थान गर्नेछन्। तियान्जिन-बेइजिङमा सञ्चालिन द्रुतगतिको रेल चढेर उनी चिनियाँ राजधानी पुग्न लागेका हुन्। 

बेइजिङका लागि उनी तियान्जिनबाट मंगलबार विहान ११ बजे रेल चढ्नेछन् र ३५ मिनेटको रेलयात्रापछि बेइजिङस्थित साउथ रेलवे स्टेशनमा ओर्लनेछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad