राजनीति


जेनजी प्रदर्शनका कारण बिथोलियो राज्य व्यवस्था समितिको बैठक

जेनजी प्रदर्शनका कारण बिथोलियो राज्य व्यवस्था समितिको बैठक

नेपालखबर
भदौ २३, २०८२ सोमबार १४:३४, काठमाडौँ

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेन–जी पुस्ताको प्रदर्शनका कारण स्थगित भएको छ।

नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरुसँग छलफलका लागि बोलाइएको बैठक जेन–जी प्रर्दशनपछि विकसित घटनाक्रमका कारण स्थगित भएको हो। 

गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र गृहसचिव गोकर्णमणि दुवाडी लगायत जेन–जीको प्रदर्शनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त भएसँगै बाहिरिएका थिए।

त्यसअघि बैठकमा केही सांसदहरूले विधेयकमाथि आफ्नो संशोधन प्रस्ताव राखे। विधेयकमाथिको छलफलमा सहभागी हुँदै नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले विधेयकमा शान्ति सुरक्षा र प्रशासनिक निर्देशनको संरचना स्पष्ट पार्नुपर्ने आवश्यकता रहेको धारणा राखिन्। 

उनले नेपाल प्रहरीले गर्ने गतिविधि नेपाल सरकारको निर्देशन र सुपरीवेक्षणमा तथा जिल्लास्तरमा शान्ति सुरक्षा र सुव्यवस्थासम्बन्धी विषयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले आवश्यक निर्देशन दिनसक्ने व्यवस्था प्रस्ताव गरिन्।

उनले भनिन्, ‘नेपाल प्रहरीको निर्देशन र सुपरिवेक्षण नेपाल सरकारले गर्नेछ। जिल्लाको शान्ति सुरक्षा, सुव्यवस्था र सोसम्बन्धी प्रशासनका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई आवश्यक निर्देशन दिनसक्नेछ। शान्ति व्यवस्था तथा सुव्यवस्थाका सम्बन्धमा प्रहरी कर्मचारीलाई आदेश वा निर्देशन दिनुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीले सम्बन्धित प्रमुखमार्फत दिनुपर्नेछ भनेर संशोधन राखेको छु।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले राष्ट्र र जनतालाई सुरक्षा ग्यारेन्टी दिने प्रहरी संगठनमाथि राजनीतिक हस्तक्षेप बढिरहेको भन्दै त्यस्तो हुन नदिनेगरी विधेयकलाई समृद्ध बनाउनुपर्ने धारणा राखे। 

उनले अपराध अनुसन्धान जस्ता विशिष्टकृत कामहरूमा प्रहरी संगठनलाई कसैले पनि हस्तक्षेप गर्न नपाउने व्यवस्था गर्दा प्रहरीको व्यवसायिक स्वायत्ततालाई बढावा दिने धारणा राखे।

लगत्तै अधिकांश सांसदले बैठक स्थगित गर्न प्रस्ताव गरेसँगै सभापति ईश्वरीदेवी न्यौपानेले बैठक स्थगित भएको घोषणा गरिन्। विधेयकमा ५२ वटा संशोधन प्रस्तावमा विभिन्न ६४८ वटा विषयमा संशोधन परेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad