राजनीति


जेनजीका माग आम जनताका हुन्, सबै पार्टीले अनिवार्य बोक्नुपर्छ: एमाले केन्द्रीय सदस्य आचार्य

‘युवामा नेतृत्व हस्तान्तरण हुनुपर्छ’
जेनजीका माग आम जनताका हुन्, सबै पार्टीले अनिवार्य बोक्नुपर्छ: एमाले केन्द्रीय सदस्य आचार्य

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०८२ बिहिबार ११:२७, काठमाडौँ

नेकपा एमालेका युवा नेता निरज आचार्यले जेनजीका माग आम जनताका माग भएकाले सबै पार्टीले अनिवार्य रूपमा बोक्नुपर्ने बताएका छन्।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्यसमेत रहेका आचार्यले अब पार्टीहरूमा युवा नेतृत्व अघि सर्नुपर्ने र नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेका छन्।

उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘जेन-जीका मागबमोजिम भ्रष्टाचार र राज्य संरचनामा हुने ढिलासुस्ती अन्त्यको लागि शान्तिपूर्वक आवाज उठाइराखौँ। दलभित्र युवा पुस्तालाई नेतृत्व हस्तान्तरणको लागि सबै दल तयार बन्नु आवश्यक छ। यो आम जनताको माग हो र सबै दलले यसलाई अनिवार्य बोक्नुपर्ने यो आन्दोलनको सन्देश हो।’

उनले सामाजिक सञ्जालमा लेखेका छन्-
नेपालको विकास, सुशासन र प्रगतिको चाहना राखेर जेन-जी पुस्ताले गर्नुभएको शान्तिपूर्ण आन्दोलन हिंसात्मक बन्दा ठूलो जनधनको क्षति भयो। जे भयो त्यो नेपालको आधुनिक इतिहासमा निकै पिडादायी घटना बनेर दर्ज हुनेनै छ। यस विचमा निधन भएका युवाहरू, सुरक्षाकर्मी  लगायत समस्त महानुभावप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना छ। जेन-जी युवाहरूको विशुद भावना र अभिव्यक्ति मुलुकमा युवा नेतृत्व, सुशासन र भ्रष्टाचारको विरोधमा देखिन्थ्यो तर २ दिनका हिंस्रक गतिविधिले मुलुकलाई अस्थिरता र कहिले उठ्न नसक्ने गरि दीर्घकालीन संकटतर्फ लैजान खोजिएको हो कि भन्ने छनक देखिँदै छ। सावधान बनौँ। देशलाई खरानीबाट उठाउन, जोगाउन र अगाडि बढाउन हामी सबैको एकता, सद्भाव र हातेमालो अझै टड्कारो देखियो।

१. जेन-जीका माग बमोजिम भ्रष्टाचारको अन्त्य र राज्य संरचनामा हुने ढिलासुस्ती अन्त्यको लागि शान्तिपूर्वक आवाज उठाइराखौँ। दलभित्र युवा पुस्तालाई नेतृत्व हस्तरणको लागि सबै दल तयार बन्नु आवश्यक छ। यो आम जनताको माग हो र सबै दलले यसलाई अनिवार्य बोक्नुपर्ने यो आन्दोलनको सन्देश हो।

२. अहिलेका जेन-जी हरूका बुबा-आमा, दाइ-दिदी पुस्ताले गणतन्त्रको लागि गरेको योगदान र बलिदानीले आज आफ्ना आवाजहरू स्वतनत्रतापूर्वक राख्ने अवसर दिएको हो, लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हो। यसमा खतरा मोल्ने गरी अगाडि नबढौँ।

३. सबै दल र सबै दलका नेता तथा कार्यक्रमहरू खराब होइनन्, तिनलाई बोक्ने नेतृत्व र सही कार्यक्रम कार्यन्वयन नगर्ने परिपाटीमा समस्याहरू भए। “सबै दल खराव र सबै नेता खराब भन्ने भाष्य जसरी बनाइँदै छ, त्यो अत्यन्त गलत छ। मन्त्री-संसद भएर पनि सादा जीवन बाँच्ने र सार्वजनिक गाडी चढेर हिँड्ने पुस्ता पनि यिनै दलभित्र छ। तर कतिपय नेताहरूमा भ्रष्ट चरित्र विकास भएको कुरा सही हो। यसलाई सच्याउन सबै लागौँ।

४. सही व्यक्ति नेता हुने र सहि व्यक्ति जनप्रतिधि हुने कुरा लोकतन्त्रमा मात्र सम्भव छ। दलहरू नै लोकतन्त्रका आधार हुन्। कस्ता दल र कस्तो नेतृत्व भन्ने बहस जेन-जी पुस्ताले गरोस। हामी त्यसमा साथ दिन तयार छौँ।

५. लोकतन्त्रबाट दायाँबायाँ हुने गरी अगाडि बढ्दा निरंकुशताको खतरा हुन्छ र अहिलेको जेन-जी पुस्ताका भाइबहिनीको पुस्ता फेरि सडकमा आउने अवस्था बन्न सक्छ।

६. दलभित्र युवा नेतृत्व र जेन-जीको माग र आवश्यकता अनुकुलको नीतिको लागि लागौँ। लोकतन्त्रमा दल, नेता र नीति फेर्न पाइन्छ। चुनाव मार्फत आफ्ना प्रतिनिधि पनि फेर्न पाइन्छ।

७. अहिलेको संसद बाट ‘युवाको नेत्रीत्वमा’ नयाँ सरकार र अर्ली इलेक्सन मार्फत जेन-जी लगायत युवा पुस्तामा मुलुकको बागडोर हस्तान्तरण अहिलेको उत्तम विकल्प हो। यसमा लागौँ।

राजनीतिक कार्यकर्ता र राजनीतिकर्मी मित्रहरू, धैर्य कायम राखौँ, आफूलाई समीक्षा गरौँ र जेन-जी स्पिरिट अनुसार आफूलाई पुनर्संरचना गर्न तयार गरौँ। सही विचार, नीति र सोच राजनीतिका आधार स्तम्भ हुन्। जहाँ छौँ, त्यहीँ उभिएर फरक हिसाबले अगाडि बढ्ने प्रण गरौँ। नेकपा एमालेजन, अन्य वाम तथा लोकतान्त्रिक दलका मित्रहरू अझ धैर्यशील र संवेदनशील बनौँ।

यो कठिन समय पनि बितेर जानेछ। अब थप क्षति हुन नदिन र फेरि खरानीको डल्लोबाट उठेर अगाडि बढ्न प्रण गरौँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad