नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति आज बस्दै छ।
कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु हुने माओवादी केन्द्रका सचिव लीलामणि पोख्रेलले जानकारी दिए।
आज र भोलि दुई दिन चल्ने बैठकमा प्रवेश शुल्क एक हजार रुपैयाँ तोकिएको छ। हल भाडा, खाजा, पानी लगायतको व्यवस्थापनका लागि सहभागीहरूबाट प्रतिव्यक्ति एकहजार रुपैयाँ रकम संकलन गर्न लागिएको हो।
‘बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयीक राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ,’ नेता पोखरेलले नेपालखबरसँग भने, ‘त्यो प्रस्तावमाथि छलफल चल्ने भएकाले बैठक भोलिसम्म लम्बिने देखिन्छ।’
आजको केन्द्रीय समिति बैठकले पार्टीको आगामी महाधिवेशनको मिति र स्थान तय गर्ने सम्भावना छ।
मुलुकमा विकसित राजनीतिक घटनाक्रमको कारण सबै पुराना पार्टीमा नेतृत्व परिवर्तनको बहस मुखर हुन थालेको छ। माओवादी केन्द्रमा पनि अध्यक्ष प्रचण्डसहितका नेताले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठ्न थालेको छ।
यसअघि बुधबार माओवादी स्थायी समितिको बैठक र गएको आइतबार पदाधिकारी बैठक बसेको थियो।
हिजो बसेको स्थायी समितिको बैठकले तोकिएकै समयमा निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट आवश्यक भूमिका खेल्ने निर्णय गरेको छ।
हिजाेकाे स्थायी समिति बैठकले पार्टीकाे विशेष वा एकता महाधिवेशनमा जाने निर्णयसहित आजकाे बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ।
Shares

प्रतिक्रिया