आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गरिएको समानुपातिक उम्मेदवार छनोटमा पार्टी भित्र र बाहिरबाट व्यापक आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बन्दसूची सच्याउने भएको छ।
यसका लागि रास्वपाले पुस १७ गते बिहान १० बजेभित्र सुझाव प्रदेश सभापतिमार्फत वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सम्बन्धित पक्षलाई आह्वान गरेको छ।
समय अभावका कारण कमीकमजोरी पछि सच्याउन पाइने भएकाले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेस गरिहालेको रास्वपाको भनाइ छ। तर अब आयोगले तोकेको समयभित्र सूची सच्याइने प्रतिबद्धता रास्वपाले व्यक्त गरेको छ।
‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाहरुबाट प्राप्त भएका प्रतिक्रिया र सुझावहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, रास्वपाले बुधबार जारी गरेको सूचनामा भनिएको छ, ‘समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेस भएको हो।उक्त बन्दसूचीमा रहेका त्रुटिहरू सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेस गर्ने जानकारी गराइन्छ। अतः बन्दसूचीमा सच्याउनुपर्ने विषयमा पौष १७ गते बिहान १०:०० बजेभित्र यथोचित सुझाव प्रदेश सभापतिमार्फत वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने छ।’
Shares

प्रतिक्रिया