नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि प्रयासरत रहेका दुवै पक्षका नेता वार्ता रोकेर शीर्षनेतालाई भेट्न गएका छन्।
मंगलबार साँझ तीनै पक्षका सदस्यले वार्ता रोकेका छन्। काठमाडौँको बासबारीस्थित वार्तास्थलबाट दुवै पक्षका नेता शीर्षनेतालाई भेट्न गएको वार्तामा सहभागी प्रदीप पौडेलले जानकारी दिए।
संस्थापन पक्षबाट वार्तामा सहभागी रमेश लेखक र बालकृष्ण खाण सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगन्ज गएका छन्। संस्थापन पक्षका नेताहरू सभापति देउवासँगै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गर्ने जनाएका छन्।
त्यस्तै, विशेष महाधिवेशन पक्षबाट वार्तामा सहभागी नेता पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग थप छलफल गर्न भनेर निस्केका छन्।
अहिलेसम्म वार्ता सकारात्मक भए पनि अब के हुन्छ भन्ने टुंगो नभएको नेता पौडेलको भनाइ छ। ‘दुवै पक्षका नेताहरू शीर्षनतासँग थप छलफल गर्न जानुभएको छ। उहाँहरूसँगको छलफलबाट के निस्कन्छ, अहिले नै भन्न सकिँदैन,’ पौडेलले नेपालखबरसँग भने।
वार्तामा सहभागी नेताहरूका अनुसार, अहिलेसम्म विशेष महाधिवेशनको स्वामित्व लिने विषयमा संस्थापन पक्षका नेता सहमत देखिएका छन्। त्यस्तै, विशेष महाधिवेशनले गर्ने निर्णय कार्यान्वयन गर्न पनि लचक देखिएका छन्।
तर, महामन्त्रीद्वय थापा र शर्माका पक्षबाट वार्तामा सहभागी नेताहरूले नेतृत्व परिवर्तनको विषय उठाएका छन्। उनीहरूले आगामी वैशाखमा हुने १५औँ महाधिवेशनसम्म अन्तरिम नेतृत्व गठन गर्नुपर्ने सर्त राखेका छन्। त्यसमा संस्थापन पक्षले सहमति जनाएको छैन।
यसअघि मंगलबार बिहान लाजिम्पाटमा पनि वार्ता भएको थियो। त्यसपछि उनीहरूले आ-आफ्नो पक्षका शीर्षनेतासँग छलफल गरेका थिए। आज पनि शीर्षनेतासँगको छलफलपछि थप वार्ता हुनसक्ने जनाइएको छ।
वार्तामा सभापति देउवा पक्षीय नेताहरू रमेश लेखक र बालकृष्ण खाण, डा. शेखर कोइराला पक्षीय नेताहरू सहमहामन्त्री जीवन परियार र नेता मीनेन्द्र रिजाल तथा महामन्त्रीद्वय थापा र शर्मा पक्षीयहरू नेता प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे वार्तामा सहभागी छन्।
Shares

प्रतिक्रिया