राजनीति


झापामा बालेनका तीन सचिवालय, सोसल मिडिया चलाउन छुट्टै घर

झापामा बालेनका तीन सचिवालय, सोसल मिडिया चलाउन छुट्टै घर

बालेनको निर्वाचन परिचालनका लागि दमकमा लिइएको घर।


सुमन सुस्केरा
माघ ४, २०८२ आइतबार १४:३५, विराटनगर

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)को चुनावी तयारी व्यवस्थित बनाउँदै लगिएको छ। एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमै उम्मेदवार बन्ने भएपछि चुनावी सरगर्मी बढेको छ।

बालेनको निर्वाचन परिचालनलाई व्यवस्थित बनाउन अहिले झापाका तीन फरक स्थानमा चुनावी सचिवालयहरू स्थापना गरिएका छन्। मुख्य चुनावी सचिवालय दमकस्थित लक्की सिटौलाको घरमा राखिएको छ। उनी रास्वपाकै नेता हुन्।

अन्य दुई सचिवालय इलाका प्रहरी कार्यालय नजिक र क्याम्पस मोड क्षेत्रमा रहने गरी तयारी पूरा भएको रास्वपा झापाका सभापति प्रकाश पाठक बताउँछन्।

तयारी व्यवस्थित गर्न रास्वपा क्षेत्रीय संयोजक भेषराज भट्टराईको नेतृत्वमा मूल सचिवालयले कमान्ड सम्हाल्ने निर्णय भएको छ। तयारीका लागि आर्थिक र युवा परिचालन लगायतका विभिन्न उपसमितिहरू गठन गरिएका छन्।

रास्वपाले जिल्ला स्तरमा 'र्‍यापिड एक्सन टिम' (र्‍याट) निर्माण गरेको छ। प्रत्येक निर्वाचन क्षेत्रमा एक-एक जना कमान्डर तोक्ने तयारी छ। 'मनोनयन दर्ता कार्यक्रमलाइ भव्य बनाउन आन्तरिक तयारीका कार्यक्रमहरू गर्दैछौँ,' संयोजक भट्टराईले नेपालखबरसँग भने, 'आन्तरिक गृहकार्य सँगसँगै विभिन्न उपसमितिहरू गठन गरिँदैछन्।'

दमकमा बालेनका लागि 'थ्री-लेयर'मा सचिवालय बनाउने तयारी पूरा भएको छ। निकै सुक्ष्म अध्ययन गरी प्रविधिमैत्री बनाउन तयारी गरिएको रास्वपा झापाका सभापति प्रकाश पाठक बताउँछन्। 

उनले बताएअनुसार  बालेनको निर्वाचन क्षेत्र लक्षित गरी सचिवालय राख्ने काम तह-तहमा भइरहेको हो। 

१. पहिलो घर, राजनीतिक र डिजिटल टिम राख्न एउटा अलग्गै घर राख्ने तयारी छ। बालेन फेसबुकसहितका सामाजिक सञ्जालहरूमा लोकप्रिय छन्। नेपालमा युट्युब र टिकटक प्रयोगकर्ता पनि धेरै छन्। नेता र कन्टेन्टेन्ट क्रिएटरको १५ जनाको विशेष टोली यो घरमा रहनेछन्। काठमाडौंबाट आउने ब्याकअप टिम पनि यहीँ बस्नेछ।

२. दोस्रो घरमा बालेन आफू बस्नेछन्। यहाँबाट उनले राजनीतिक भेटघाट गर्नेछन्। छिटो लिनुपर्ने निर्णय र परिवर्तन गर्नुपर्ने रणनीति यही दोस्रो घरबाट हुनेछ। सामाजिक सञ्जाल टिम र निर्वाचन कमान्डसँग निकट रहेर यो घरबाट काम गर्ने तयारी गरिएको छ।

३. तेस्रो घरको सचिवालयबाट बालेनका निकट नेता, रास्वपाका स्थानीय नेतासहित नेताहरू रहनेछन्। बालेनको टिमले  मतदाताको सर्वेक्षण गराएको थियो। मतदातालाई युवा, वृद्ध, महिला र वैदेशिक रोजगारीमा रहेका गरी विभिन्न क्लस्टरमा बाँडेर छुट्टाछुट्टै एजेन्डा राखेर सर्वे गर्ने तयारी गरेको थियो। अहिलेसम्म गोप्य राखिएका कतिपय कामहरू यो तेस्रो घरबाट कार्यान्वयनमा लगिने तयारी भइरहेछ।

सुरुमा दमकको क्याम्पस मोड र गोर्खा किचन आसपासका क्षेत्रमा ७-८ वटा घरहरू हेरिकएको थियो। केही स्थानीयले निःशुल्क घर उपलब्ध गराउने प्रस्ताव समेत गरेका थिए। सुरक्षा र पहुँचलाइ समेत ध्यानमा राख्दै अन्तिम छनोट गरिएको हो।

निर्वाचन अयोगको कार्यतालिकाअनुसार माघ ६ गते उम्मेदवार मनोनयन दर्ता हुनेछ। बालेनले उम्मेदवारी दिने कार्यक्रमलाई रास्वपाले शक्ति प्रदर्शनको रूपमा समेत प्रयोग गर्ने रणनीति बनाइरहेछ। 

उम्मेदवारी दर्ताको अवसरमा औपचारिक भाषणबाजी भन्दा सांस्कृतिक पक्षलाई प्राथमिकता दिइनेछ रास्वपा नेताहरू बताउँछन्। दमक, कमल, गौरादह र गौरीगञ्ज गरी चारवटा पालिकाबाट धिमाल, राई, लिम्बू, सन्थाल र पञ्चेबाजासहितका सांस्कृतिक झाँकीहरू सहभागी गराइने तयारी छ। दमक क्षेत्रमा रास्वपाका करिब ३ हजार संगठित सदस्य रहेका छन्, जसलाई मनोनयनका दिन सडकमा उतार्ने तयारी छ। यो भन्दा बाहेक बालेनका अरू शुभेच्छुक पनि छन्। 

बालेन दमक आउँदा 'जेनजी' युवाको ठूलो उपस्थिति र अन्य जिल्लाबाट समेत युवा परिचालन हुन सक्ने भन्दै सुरक्षा निकायले अफ्नो तयारी गरिरहेछ। सुरक्षाको स्थिति मूल्यांकन र भावी तयारी गर्न प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अज सर्वदलीय बैठक बोलाएका छन्।

सचिवालयदेखि कमान्ड
यस पटकको कार्यक्रममा औपचारिक भाषणबाजीलाई भन्दा सांस्कृतिक पक्षलाई प्राथमिकता दिइने रणनीति बनाइएको छ। कार्यक्रममा विभिन्न जातजातिको झाँकी र सांस्कृतिक प्रदर्शनसहित नेताहरूको स्वागत गरिने तयारी रहेको उनले बताए।

मनोनयन स्थलसम्मको व्यवस्थापन र समयको बाँडफाँडका विषयमा समेत सचिवालयले सूक्ष्म योजना बनाइरहेको बुझिएको छ। तयारीलाई व्यवस्थित बनाउन पार्टीले आर्थिक र युवा परिचालन लगायतका विभिन्न उपसमितिहरू निर्माण गरेको छ। सबै कार्यकर्ता र शुभेच्छुकहरूको अपनत्व महसुस गराउनका लागि टिमलाई समावेशी बनाइएको र थप समितिहरू विस्तार गर्ने क्रम जारी रहेका रास्वपा झापाले जनाएको छ।

केन्द्रबाट आएका केन्द्रीय सदस्यहरू रहे पनि क्षेत्रीय रूपमा क्षेत्रीय संयोजक भेषराज भट्टराईको संयोजकत्वमा मूल सचिवालयले कमान्ड सम्हाल्ने निर्णय भएको छ। बलेनको टिमले रास्वपाको क्षेत्रीय संयोजकलाई अघि सारेको भए पनि आन्तरिक गृहकार्यको बारेमा धेरै जानकारी रास्वपाका नेताहरूले जानकारी नै पाउँदैनन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन परिचालनका लागि जिल्ला 'र्‍यापिड एक्सन टिम'  (र्‍याट) बनाएको छ। क्षेत्रीय समिति र पालिका सभापतिहरूले झाँकी तथा अन्य स्थानीय व्यवस्थापन सम्हालिरहेका छन्। पार्टीले निर्वाचन परिचालनका लागि प्रत्येक क्षेत्रमा एक–एक जना कमान्डर तोक्ने तयारी गरेको रास्वपा झापाका सभापति प्रकाश पाठकले जानकारी दिए।

सीडीओले बोलाए बैठक

चुनावी प्रयोजनका लागि झापाको क्षेत्र नम्बर ५ का तीन विभिन्न स्थानमा सचिवालय स्थापना गरिएको छ। जसमध्ये एउटा बालेनको मुख्य सचिवालय लक्की सिटौलाको घरमा राखिएको छ। अन्य दुई वटा सचिवालय भनेँ एउटा इलाका प्रहरी कार्यालय नजिक र अर्को क्याम्पस मोड क्षेत्रमा रहनेछन्। यी घरहरूको व्यवस्थापन र भाडासम्बन्धी प्रक्रिया बालेनको केन्द्रीय टिमले नै हेरिरहेको हो।

दमक क्षेत्रमा रास्वपाका करिब ३ हजार संगठित सदस्य छन्, जसलाई मनोनयनका दिन सडकमा उतार्ने तयारी छ। यो भन्दा बाहेक बालेनका अरू शुभेच्छुक पनि छन्। उनी दमक आउँदा 'जेनजी' युवाको ठूलो उपस्थिति र अन्य जिल्लाबाट समेत युवा परिचालन हुन सक्ने भन्दै सुरक्षा निकायले आफ्नो तयारी गरिरहेछ। सुरक्षाको स्थिति मूल्यांकन र भावी तयारी गर्न प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आज सर्वदलीय बैठक बोलाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad