नेकपा एमालेका पुराना हस्ती एवं पूर्व राज्यमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेपछि काठमाडौँ ७ को चुनावी अंकगणित फेरिएको नेताहरू बताउँछन्। एमालेमा लामो समय राजनीति गरेका र दुई पटक सोही क्षेत्रबाट निर्वाचित मानन्धरको प्रवेशपछि कांग्रेसका नेता तथा कार्यकर्ता उत्साहित छन्।
१२ वर्षपछि आफ्नै चिह्नमा मत दिन पाएर मात्र होइन, मानन्धरको प्रवेशले नतिजा आफ्नो पक्षमा पार्न सकिनेमा कांग्रेसका नेता आशावादी छन्। यो क्षेत्रमा २०७० यता कांग्रेसले आफ्नो उम्मेदवार उठाएको थिएन।
सो क्षेत्रका कांग्रेस उम्मेदवार प्रमोदहरि गुरागाईं रामवीरको प्रवेशले उत्साहित देखिन्छन्।
‘एकदमै राम्रो हुँदै गएको छ, रामवीरजीको आगमनले हाम्रो संगठनमा ठूलो बल पुगेको छ,’ उनले नेपालखबरसँग भने।
गत निर्वाचनमा नेकपा एमालेले टिकट नदिएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका थिए। सोही क्षेत्रमा पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी मानुषी यमी भट्टराई उम्मेदवार थिइन्। तर, कांग्रेसको ठूलो हिस्सा मत मानुषीलाई जानुको साटो राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीतिर स्विङ भएको चर्चा चलेको थियो। रामवीरले एमालेको भोट काट्नु र कांग्रेसको मत विचलित हुनु नै पराजुलीको जितको मुख्य आधार बनेको विश्लेषण गरिएका थिए।
यसपटक यस क्षेत्रमा चार जना उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेसका गुरागाईं, रास्वपाका पराजुली, एमालेका प्रकाश श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टीका बसन्त मानन्धर प्रतिस्पर्धामा छन्।
श्रेष्ठ र मानन्धर दुवै प्रदेश सांसद पद त्यागेर प्रतिनिधिसभामा उठेका हुन्।
रामवीरको प्रवेशले पार्ने प्रभाव
रामवीर मानन्धर काठमाडौँ ७ का रैथाने त हुन् नै, ग्रासरुटमा पनि राम्रो पकड भएका नेता मानिन्छन्। यद्यपि, उनको पक्षमा कति मत छ भन्ने यकिन छैन। उनले स्वतन्त्र उम्मेदवार भएर अघिल्लो पटक १ हजार २१५ मत ल्याएका थिए।
जेनजी आन्दोलनका नाममा उनको घरमा तोडफोड भएको थियो। जसले गर्दा केही समय निराश भएर बसेका उनी फागुन पहिलो साता कांग्रेस प्रवेश गरेका हुन्।
कांग्रेसका उम्मेदवार गुरागाईं रामवीर मानन्धरको प्रवेशले नयाँ इतिहास लेख्न सकिने बताउँछन्। ०७९ को चुनावमा कांग्रेसको मत बाँडिँदा रास्वपाका पराजुलीले बाजी मारेको उनको भनाइ छ।
लामो समय संगठन बनाएका व्यक्ति नै कांग्रेस प्रवेश गरेकोले त्यसको प्रभाव एमालेलाई पर्ने उनको बुझाइ छ।
अर्काे सम्भावना– एमाले र कांग्रेसबीचको मत विभाजनको फाइदा बसन्त मानन्धरले उठाउन सक्छन्।
‘म निरन्तर रूपमा साढे ८ वर्षदेखि जनताको माझमा भिजेर काम गर्दै आएको छु,’ बसन्तले भने, ‘त्यसकारण जनताको अभिमत मेरो पक्षमा देखिएको छ। जनताले मलाई विजयी गराउने आधार मज्जाले तयार भएको छ। त्यो अभिमत बोकेर म संसदमा जाँदैछु।’
तर, रास्वपाले यो क्षेत्रलाई जित्ने सूचीमा राखेको छ। पराजुलीले देशैभरको लहर रास्वपाकै पक्षमा रहेको दाबी गरे।
एमालेका उम्मेदवार प्रकाश श्रेष्ठले रामवीर कांग्रेस प्रवेश गर्दा हजार मत बढेको बताए।
‘रामवीरजी जाँदा मेरो हजार भोट बढ्यो, कांग्रेसको घट्यो,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘रामवीर मानन्धरले सूर्यलाई नदिएर रुखलाई दिनू भनेर अहिले कसैले मान्दैन।’
बाहिर हेर्दा रामवीर लोकप्रिय जनमत भएको जस्तो लागे पनि त्यो सत्य नभएको उनको भनाइ छ।
‘उहाँ हिजो पार्टी छोडेर बस्नुभएको हो, पार्टीमा प्रवेश गराए पनि वडाध्यक्ष चुनावमा उहाँलाई अगाडि बढाउँदा झन् हामी थोरै मतले हा¥यौँ, मतदाताले एकपटक पार्टी छोडेका नेता मन पराउँदा रहेनछन्, घाटा लाग्ला भनेर मैले उम्मेदवारी दिएपछि उहाँलाई घरदैलोमा पनि सँगै लिएर गइनँ,’ श्रेष्ठले थपे।
Shares

प्रतिक्रिया