राजनीति


गगन थापालाई पराजित गरेका अमरेश सिंहलाई उद्योग मन्त्रालय

गगन थापालाई पराजित गरेका अमरेश सिंहलाई उद्योग मन्त्रालय

नेपालखबर
चैत १३, २०८२ शुक्रबार ११:५३, काठमाडौँ

सर्लाही ४ बाट कांग्रेस सभापति गगन थापालाई पराजित गरेर प्रतिनिधिसभा सदस्य बनेका अमरेश सिंह उद्योगमन्त्री बन्ने टुंगो लागेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १५ मन्त्रीको नाम र मन्त्रालय टुंग्याउँदा सिंहलाई उद्योग मन्त्रालय दिने निश्चित भएको हो। 

गएको फागुन २१ गते भएको निर्वाचनमा सिंह सर्लाही ४ बाट कांग्रेस सभापति थापालाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका थिए। 

निर्वाचनमा सिंह ३५ हजार ६८८ मत प्राप्त गरी विजयी हुँदा कांग्रेस सभापति थापाले २२ हजार ८३१ मत मात्रै प्राप्त गरेका थिए। सिंह सर्लाही ४ नम्बर क्षेत्रमै पर्ने बलराका स्थायी बासिन्दासमेत हुन्।

गएको माघ ७ गते कांग्रेसका नव निर्वाचित सभापति थापाले सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने घोषणा गर्दा पुराना कांग्रेस नेता अमरेश निकै दबाबमा परेका थिए। 

तर, उनले कांग्रेका शक्तिशाली सभापतिलाई नै पराजित गरेर इतिहास रचेका छन्। 

माघ ६ गते मात्रै जनकपुरमा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका सिंह
यसअघिका तीनवटा आम निर्वाचनमा पनि सर्लाही ४ बाटै विजयी बनेका थिए। 

सिंहले यसपटक कांग्रेस सभापतिलाई नै पराजित गर्दै चौथो जित निकालेका छन्।

सिंह २०७० र ०७४ सालको निर्वाचनमा कांग्रेसको टिकटमा सर्लाही ४ बाट निर्वाचित भएका थिए। ०७९ को निर्वाचनमा भने उनलाई तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाले टिकट दिएनन्। त्यतिबेला पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिए। 

स्वतन्त्र उम्मेदवार भएरै उनले तत्कालीन माओवादीसहित पाँद दलीय गठबन्धनका कांग्रेस उम्मेदवारलाई पराजित गरेका थिए। 

त्यतिबेला सिंह २० हजार १७ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेसका पूर्वजिल्ला सभापति नागेन्द्रकुमार रायले १८ हजार २५३ मत प्राप्त गरेर दोस्रो भएका थिए। 

यसपटकको निर्वाचनमा कांग्रेस सभापतिलाई नै पराजित गरेपछि अमरेश झन् चर्चामा छन्। यसअघि तीनपटकसम्म सांसद निर्वाचित हुँदा पनि मन्त्री बन्ने अवसर नपाएका सिंहले यसपटक मन्त्री बनेर अर्को इतिहास रचेका छन्। 

जेनजी आन्दोलनपछि सिंह रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेनबीच एकताको लागि पनि निकै सक्रिय भएका थिए। 

०६१–०६२ मा शाही कदमविरुद्ध भएका भएका सात दलको आन्दोलनताका सिंह कांग्रेस राजनीतिमा सक्रिय भएका हुन्। त्यसअघि उनी भारतमा अध्ययनरत थिए। जनआन्दोलनअघि आफूले अस्कल क्याम्पसमासमेत गरेको सिंह बताउँछन्। 

तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग निकट मानिने सिंह ०७९ को निर्वाचनमा शेरबहादुर देउवाले सर्लाही ४ बाट टिकट नदिएपछि कांग्रेसबाट अलग भएका नेता हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad