पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पिसाबको संक्रमण देखिएको छ। जसले गर्दा पत्थरीको शल्यक्रिया पनि केही दिन पछि सरेको छ।
काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री ओलीको बिहीबार युरिन टेस्ट रिपोर्ट आएको छ। रिपोर्टमा पिसाबको संक्रमण देखिएको अस्पतालले जनाएको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले पिसाबमा संक्रमण देखिएकाले उपचार भइरहेको जानकारी दिए।
यसअघि नै ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी देखिएको थियो। उनको पत्थरीको शल्यक्रिया गर्ने तयारी गरिएको थियो। तर पिसाबको संक्रमण देखिएपछि केही समय पछि सारिएको छ।
पिसाब संक्रमण ठिक भएपछि पत्थरीको शल्यक्रिया गर्ने तयारी गरिने सूचना अधिकारी रोस्याराले बताए। ‘पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गर्ने निर्णय भएको छ। तर उहाँमा अहिले पिसाबको संक्रमण देखिएकाले संक्रमण निको भएपछि मात्र गर्ने भनेर छलफल भइरहेको छ,’ उनले नेपालखबरसँग भने।
पूर्वप्रधानमन्त्री ओलीलाई चैत १४ गते बिहान पक्राउ गरिएको थियो। प्रहरी हिरासतमा राख्नुअघि स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।
परीक्षणका क्रममा उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको ‘एनेक्स–१’ को बेड नम्बर ५०१ मा चिकित्सकहरूको निगरानीमा राखिएको छ।
ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन्। उनको दुई पटक मिर्गौला प्रत्यारोपण भएको छ।
जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदनका आधारमा सरकारले ओली पक्राउ गरेको हो। उनीसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिएको थियो।
ओलीको स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमै राखिएको छ। पूर्वगृहमन्त्री लेखकलाई भने प्रहरी हिरासतमै राखिएको छ।
दुवै जनालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौँले पाँच दिनको अनुमति दिएको थियो। थप थुनामा राख्न फेरि आज प्रहरीले जिल्ला अदालतबाट अनुमति लिनुपर्नेछ।
Shares

प्रतिक्रिया