विभिन्न १५ विद्यार्थी संगठनले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध आन्दोलनको घोषणा गरेका छन्।
‘जयतु संस्कृतम्’ आन्दोलनको शालिकअगाडि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरूले सरकारविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन्।
काठमाडौँ जमलस्थित तीनधारा पाठशालामा आयोजित कार्यक्रममा विद्यार्थी नेताहरूले जेनजी आन्दोलनमा बार्बरा फाउन्डेसन, टीओबी, फ्री तिब्बत, हामी नेपालीजस्ता सङ्गठनको प्रत्यक्ष सहभागिता रहेको र अहिले तिनै शक्तिले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन खोजेको बताए।
विद्यार्थी संगठनहरूले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध आजैबाट आन्दोलदन सुरु भएको घोषणा गरे।
त्यसक्रममा चैत २९ गते नागरिक अगुवा लगायतसँग अन्तरक्रिया, चैत ३० देखि २०८३ वैशाख ४ गतेसम्म कलेजहरूमा स्ववियुको आयोजनामा अन्तरक्रिया, वैशाख ५ गते पूर्वविद्यार्थी नेताहरूसँग अन्तरक्रिया, वैशाख ७ देखि ९ सम्म प्रचारप्रसार (कलेजमा ब्यानर राख्ने, हस्ताक्षर संकलन, वक्तृत्वकला आदी) कार्यक्रम घोषणा गरेका छन्।
यस्तै, वैशाख ११ गते हरेक विश्वविद्यालयका कुलपतिलाई ज्ञापन पत्र दिने, वैशाख १२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने र वैशाख १५ गते काठमाडौँ उपत्यकामा बालुवाटारमा कापी कलमसहित देशभर प्रदर्शत गर्ने कार्यक्रम रहेको छ।
१५ वटै संगठनका प्रमुख नेता उपस्थित पत्रकार सममेलनमा अखिल (छैठौं) का अध्यक्ष सुवास जिसीले प्रश्न गरे, ‘नेपालका प्रत्येक परिवर्तनको सहयात्री हामी विद्यार्थी सङ्गठन र विद्यार्थी आन्दोलन हौँ। हामी नै किन प्रतिबन्धित हुनुपर्ने?’
विद्यालयभित्र मात्रै होइन, देशको राजनीतिक आन्दोलनमा समेत सङ्कट पर्दा विद्यार्थी आन्दोलनको खोजी हुने गरेको उनले बताए।
‘अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण महँगी बढेको छ’ उनले भने ‘यतिखेर नेपाली जनताले विद्यार्थी आन्दोलन कहाँ छ भनेर खोजिरहेका छन्। यसबाट स्पष्ट हुन्छ विद्यार्थी सङ्गठन जनताको पनि आवश्यकता हो।’
Shares

प्रतिक्रिया