राजनीति


संसद्का १२ वटा समितिले आज पाउँदैछन् सभापति

संसद्का १२ वटा समितिले आज पाउँदैछन् सभापति

एकल उम्मेदवारी परेपछि निर्विरोध भएका १० जना सभापति


नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार १०:१२, काठमाडौँ

संघीय संसद्का १२ वटा समितिले आज सभापति पाउँदैछन्। प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिको आज निर्वाचन हुन लागेको हो। 

आज बस्ने सम्बन्धित समितिको बैठकमा सभापतिको निर्वाचन गर्ने कार्यसूची छ। तर, १० वटा संसदीय समितिका सभापति भने हिजै निर्विरोध भइसकेका छन्। 

सभापतिको निर्वाचनका लागि बिहीबार संघीय संसद् सचिवालयमा सभापतिका लागि मनोनयन दर्ता हुँदा नै एकल उम्मेदवारी परेका १० जना सभापति निर्विरोध भएका हुन्। एउटा एकल र एउटा संयुक्त समिति सभापतिका लागि भने दुई जनाको उम्मेदवारी परेकाले आज मतदान हुने कार्यसूची छ। 

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि आज निर्वाचन हुनेछ।

यो समितिको सभापतिमा रास्वपाकी ओजस्वी शेरचन र नेकपा (एमाले)का गुरुप्रसाद बरालले उम्मेदवारी दिएका छन्। शेरचनको प्रस्तावकमा डा. लेखजंग थापा र समर्थकमा खुश्बु सरकार श्रेष्ट थिए भने बरालको प्रस्तावकमा सीता थपलिया र समर्थकमा भीमकुमारी बुढा मगर छन्। 

यस्तै, संसद्को संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा पनि दुई जनाको उम्मेदवारी परेको छ। 

यसमा रास्वपाका गणेश कार्की र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की मदनकुमारी शाह (गरिमा)ले उम्मेदवारी दिएकी छन्। कार्कीको प्रस्तावकमा रिमा विश्वकर्मा र समर्थकमा सुशान्त वैदिक तथा शाहको प्रस्तावकमा जनकराज गिरी र समर्थकमा पुष्पराज कँडेल छन्। 

प्रतिनिधि सभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिका गरी १० वटा संसदीय समितिका सभापति हिजै निर्विरोध निर्वाचित भएका छन्। 

प्रतिनिधि सभाको अर्थ समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. कृष्णहरि बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्। 

त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा रास्वपाकै सुम्निमा उदास र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रास्वपाकै रहवर अन्सारी निर्विरोध निर्वाचित भएका छन्।

प्रतिनिधि सभा अन्तर्गतकै कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा रास्वपा सांसद समीक्षा बास्कोटा र संघीय संसद्को संयुक्त संसदीय सुनुवाई समितिको सभापतिमा रास्वपाका बोधनारायण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।  

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रास्वपाका हरि ढकाल निर्विरोध निर्वाचित हुँदा सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्। 

प्रतिनिधि सभाअन्तर्गतकै महिला तथा सामाजिक मामिला समितिको सभापतिमा रास्वपाकी आकृति अवस्थी निर्विरोध निर्वाचित भएकी छन् भने पूर्वाधार विकास समितिको सभापतिमा रास्वपाकै आशिष गजुरेल निर्विरोध भएका छन्। 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा रास्वपाका अशोककुमार चौधरी निर्विरोध निर्वाचित भएका छन्। 

शुक्रबार सम्बन्धित समितिको बैठकमा एकल उम्मेदवारी परेका सभापति निर्विरोध भएको जानकारी गराइने छ। 

 शुक्रबार दिउँसो १ बजे सबै समितिको बैठक बोलाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad