राजनीति


संसद् छलेर चोर बाटो हिड्दा बुमर्‍याङमा पुर्‍याउँछ: भीष्मराज आङदेम्बे

संसद् छलेर चोर बाटो हिड्दा बुमर्‍याङमा पुर्‍याउँछ: भीष्मराज आङदेम्बे

नेपालखबर
बैशाख १९, २०८३ शनिबार १६:३५, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले सरकार संसद् छलेर चोर बाटो हिड्न खोजेको बताउँदै यसले बुमर्‍याङमा पुर्‍याउने टिप्पणी गरेका छन्। 

नेता आङदेम्बेले शनिबार बिहान राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए। त्यसपछि दिउँसो काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार अध्यादेशको गलत बाटो हिडिरहेको टिप्पणी गरेका हुन्। 

‘जनताको अभिमतबाट प्राप्त भएको यत्रो ठूलो आकारलाई विश्वास नगरेर, त्यो आकारले एउटा टुङ्गोमा पुर्‍याउँछ भन्ने विश्वास नगरेर जसरी चोर बाटोबाट उहाँहरूले आफूहरूलाई निकाल्ने कोसिस गरिराख्नुभएको छ, यसले राम्रो संकेत दिइराखेको छैन,’ आङदेम्बेले भने। 

सरकार जनताको अभिमतलाई विश्वास नगरेर संसद्लाई बन्धक बनाएर अध्यादेशबाट चलिरहेको आरोप लगाए। चोर बाटोबाट देश चलाएर दिगो विकास र शान्ति नहुने उनको भनाइ थियो। 

‘चोर बाटोबाट व्यक्त भएका व्यक्तिहरूले मुलुकलाई दिगो शान्तितर्फ, दिगो विकासतर्फ डोर्‍याएर लैजाँदैन। यसले कहीँ न कहीँ बुमर्‍याङमा पुर्‍याउँछ,’ आङदेम्बेले भने।

जनताले दिएको त्यत्रो ठूलो अभिमतमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारले भरोसा गर्नुपर्ने उनको भनाइ थियो। अध्यादेशबाट देश चलाउन खोज्नु गलत भएको उनले बताए। 

त्यस्तै, सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले डोजर आतंक मच्चाइरहेको उनले बताए। अव्यवस्थित बस्ती हटाउने नाममा गरिएको डोजर आतंकका कारण मानिसको ज्यान समेत गएको आङदेम्बेले उल्लेख गरे। 

‘स्कुलमा पढ्ने तीन-चार सय विद्यार्थी आज भविष्यविहीन भएर बसिराख्नुभएको छ। दुई जना त आजको मितिमा वितिसक्नु भएको छ, अव्यवस्थितलाई हटाउने नाममा गरिएको डोजर आतंकले,’ उनले भने, ‘मैले यो शब्द किन प्रयोग गरेको भन्दाखेरी जब मान्छेको मृत्युसम्म पुग्ने अवस्था हुन्छ भने त कहीँ न कहीँ जनता आतंकित हुन्छ। राज्य आतंकको पर्याय बन्नु हुँदैन। राज्य त अभिभावक जस्तो पो हुनुपर्छ।’

राज्य आतंकको पर्याय बन्न नहुने उनको भनाइ थियो। सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट नीति, प्रक्रिया र सहकार्य आवश्यक रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad