राजनीति


उपराष्ट्रपति र इजरायली राजदूतबीच शिष्टाचार भेट

उपराष्ट्रपति र इजरायली राजदूतबीच शिष्टाचार भेट

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १७:४०, काठमाडौँ

उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच आज (शुक्रबार) लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट भएको छ। 

भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग,  श्रम आप्रवासन, शिक्षा तथा तालिमलगायत विषयमा संवाद भएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। 

उपराष्ट्रपति यादवले नेपाल-इजरायलबीच सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, सद्भाव, पारस्परिक समझदारी तथा सहयोगमा आधारित उत्कृष्ट सम्बन्ध कायम रहिआएको बताए।  उनले अर्थतन्त्र, व्यापार, पर्यटन तथा लगानीका क्षेत्रमा सहयोग विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गरे। साथै यस्ता अवसरको पहिचान तथा उपयोगमार्फत दुवै मुलुकले पारस्परिक लाभ हासिल गर्न सक्ने उनले विश्वाससमेत व्यक्त गरे।

शिक्षा, कृषि, सहकारी विकास, प्रहरी तथा सैनिक तालिमलगायतका क्षेत्रमा इजरायलले पुर्‍याउँदै आएको सहयोग प्रशंसनीय रहेको उनले बताए। 

उपराष्ट्रपति यादवले इजरायलसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ गहिरो तथा विस्तारित बनाउन नेपाल पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरे। उनले इजरायलको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा इजरायल सरकार तथा जनताप्रति शुभकामना व्यक्त गरे। 

इजरायली राजदूत बासले नेपाललाई कृषि, माहुरी, माछापालनलगायत क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक रहेको बताए। उनले ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत धेरै नेपालीहरूले सीप सिकेर नेपालका विभिन्न क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै भविष्यमा पनि नेपालीहरूका लागि कामको अवसर प्रदान गर्ने बताए। साथै, नेपाललाई विभिन्न क्षेत्रमा प्राविधिक सहयोग गर्ने इजरायलको चाहना रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad