नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।
जनकपुरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस कार्यकर्ताहरू पुनः जागरुक हुनुपर्ने बताएका हुन्।
नेता सिटौलाले मुलुकको राजनीतिक वृत्त अहिले सही ढङ्गले अगाडि नबढेको टिप्पणी गरे। सिटौलाले राज्य सञ्चालनका प्रमुख अङ्गहरू न्यायपालिका, प्रशासन, सुरक्षा निकाय र संसद् लगायतका गतिविधिहरू सन्तोषजनक नरहेको औँल्याए।
नेपाली कांग्रेसको इतिहास स्मरण गर्दै नेता सिटौलाले विसं २००७ सालको क्रान्तिमा तराई क्षेत्र, विशेष गरी विराटनगर, जनकपुर र वीरगन्जले खेलेको नेतृत्वदायी भुमिकाको चर्चा गरे। तराईकै क्रान्तिको बलमा नेपालमा प्रजातन्त्रको उदय भएको र जनताले ‘रैती’ बाट ‘नागरिक’ को पहिचान पाएको उनको भनाइ छ।
उनले भने, ‘अहिले देशको राजनीतिक वृत्तको सूक्ष्म अवलोकन गर्ने हो भने नेपालको राजनीति ठिक ढङ्गले अगाडि बढिरहेको छैन। त्यसैले संविधान र लोकतन्त्र जोगाउन कांग्रेस कार्यकर्ताहरूले पुनः एकीकृत भएर नयाँ मार्गचित्र निर्माण गर्नुपर्ने आवश्यकता छ। २००७ सालको क्रान्ति नेपालको आधुनिक युगको प्रादुर्भाव हो। तत्कालीन नेतृत्वले आफ्नो स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि गरेको त्याग नै आज हाम्रो प्रेरणाको स्रोत हो।’
संविधानको रक्षा र संशोधनका विषयमा बोल्दै नेता सिटौलाले संविधानको मूल चरित्र र समानुपातिक समावेशी सिद्धान्तलाई कुनैपनि हालतमा कमजोर पार्न नहुनेमा जोड दिए। पार्टीभित्रको आन्तरिक अवस्था र नेतृत्वको कार्यशैलीप्रति सङ्केत गर्दै उनले शासक र नेताहरूमा जवाफदेहिताको अभाव देखिन थालेको बताए।
नेताहरूमा बढ्दै गएको श्वेच्छाचारी प्रवृत्तिविरुद्ध निरन्तर सङ्घर्ष गर्नु नै नेपालको सही राजनीतिक आत्मा हुने उनको तर्क छ। जनताको अधिकार, आर्थिक समृद्धि र पहिचानका लागि शहीद तथा अग्रजहरूले देखाएको बाटोमा विचलित नभई अगाडि बढ्नु नै उनीहरूप्रति सच्चा श्रद्धाञ्जली हुने भन्दै सिटौलाले कार्यकर्ताहरूलाई कर्तव्यबोधका साथ जिम्मेवारी वहन गर्न आह्वान समेत गरे।
Shares

प्रतिक्रिया