श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा आएर माफी नमागेसम्म अन्य विषयमा छलफल नहुने बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति राष्ट्रहित विपरित भएकोले माफी माग्नुपर्ने बताए। ‘उहाँले आफ्नो गलत भनाइलाई सच्याउँदै सदनमा माफी माग्नुपर्छ,’ साम्पाङले भने।
प्रधानमन्त्री शाहले संसद्मा गलत बोलेको साम्पाङको जिकिर छ। ‘उहाँले बोल्नुभएको सरासर गलत छ, कार्यकारी प्रमुखले त्यो तरिकाले बोल्न हुन्न,’ साम्पाङले भने।
उनले भारतलाई रिजाउने हिसाबले बोलेको हो की भन्ने शंका उत्पन्न भएको उनको भनाइ थियो। प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्री शाहको अभिव्यक्तिले देशको भौगोलिक अखण्डता, सार्वभौम सत्ता, सुरक्षामाथि नै खतरा हुने देखिएको उनको जिकिर थियो। ‘उहाँले जे बोल्नु भएको छ, त्यसले हाम्रो देशको भौगोलिक अखण्डता, सार्वभौम सत्ता, सुरक्षामाथि नै खतरा हुने देखिन्छ,’ उनले भने, ‘त्यो बोलिसकेपछि विभिन्न ठाउँहरूमा भारतीय सेनाहरू हातहतियार लिएर प्रवेश गरे, विभिन्न खालको योजनाहरू रोकिए, भन्ने कुराहरू आइरहेको छ।’
प्रधानमन्त्री शाहले नेपालले भारतको कहाँ, कति भूमी मिचेको हो भन्ने जानकारी दिनुपर्ने उनले बताए। यस विषयमा स्पष्ट नपारेसम्म बजेटमाथि छलफल हुन नदिने उनले बताए।
Shares

प्रतिक्रिया