नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राज्य संयन्त्रमा रहेका व्यक्ति तथा निकायलाई आफ्नो अधिकारको दुरुपयोग नगर्न र संयमित रहन चेतावनी दिएका छन्।
बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै ओलीले समय र परिस्थिति सधैँ एकैनासको नरहने उल्लेख गर्दै राज्यका जिम्मेवार ओहोदामा रहेकाहरूलाई ‘उत्ताउलिएर’ अगाडि नबढ्न चेतावनी दिए। ‘राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरूलाई म भन्न चाहन्छुरू समय र परिस्थिति सधैँ एउटै रहँदैन। उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला,’ उनले भने।
नेपालको राजनीतिक इतिहास स्मरण गर्दै उनले राणा शासन, पञ्चायती तानाशाही र राजतन्त्रजस्ता शक्तिशाली व्यवस्थाहरू त ढलेको अवस्थामा वर्तमान ‘अराजक तन्त्र’ लामो समय नटिक्ने दाबी गरे।
‘सधैँ एउटै परिस्थिति रहँदैन। राणा शासन ढल्यो, पञ्चायती तानाशाही ढल्यो, राजतन्त्र ढल्यो, अनेक तन्त्रहरू गए। यो अराजक तन्त्र कति समयको पाहुना हो, यो अराजकतन्त्र लामो समय चल्न सक्दैन,’ ओलीले भने।
अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते भएका आगजनी तथा राष्ट्रिय सम्पत्ति विनाशका घटनाहरूप्रति सरकारको ध्यानाकर्षण गराए। उनले राष्ट्रव्यापी रूपमा भएका यस्ता उपद्रवकारी र आपराधिक क्रियाकलापलाई सरकारले सामान्य रूपमा लिएर बेवास्ता गर्न खोजेको आरोप लगाए।
‘मैले अघि नै भनेको थिएँ- भदौ २३-२४ मा भएका उपद्रवकारी क्रियाकलाप, आगजनीजस्ता राष्ट्रव्यापी घटनाहरू, राष्ट्रको सम्पत्ति जलाउनेजस्ता अपराधलाई केही नभएको जस्तो गरी सर्लक्क पचाउने प्रयास भएको छ। यो सानोतिनो कुरा होइन,’ उनले भने।
राष्ट्रको सम्पत्ति जलाउने जस्तो गम्भीर अपराधलाई ‘पचाउने’ प्रयास भइरहेको भन्दै उनले यसलाई सानोतिनो विषय नमानी गम्भीरतापूर्वक लिन आग्रह गरे।
Shares

प्रतिक्रिया