राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको सभापतिमा बुद्धिप्रसाद पन्त (हरि) निर्वाचित भएका छन्।
सोमबार राति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट उनी ४८ मतान्तरसहित दोश्रो कार्यकालका सभापतिमा निर्वाचित भएका हुन्। यसअघि उनी रास्वपाको तदर्थ समितिको सभापति थिए।
रास्वपा पर्साका निर्वाचन संयोजक डा.नन्दन यादवका अनुसार खसेको कुल मतमध्ये विजयी पन्तले १६६ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी सुशील साह कानुले ११८ मत मात्रै प्राप्त गरे।
सभापतिसँगै कार्यसमितिका अन्य मुख्य पदाधिकारीमा पनि पन्त प्यानलकै उम्मेदवारहरू विजयी भएका छन्।
कार्यसमितिको उपसभापति पदमा १६२ मतसहित दिलिपकुमार कुर्मी निर्वाचित भएका छन्। सचिव पदमा सुदिशकुमार प्रजापति १६० मत ल्याएर विजयी भएका छन् भने सहसचिव पदमा १४९ मतका साथ कृष्णा पासवान विजयी भएका छन्।
यसअघि शनिबार वीरगञ्जमा आयोजित जिल्ला अधिवेशनका क्रममा नेतृत्व चयनको विषयलाई लिएर दुई पक्षबिच विवाद र मर्यादा बाहिर गएर कुटाकुट भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो।
त्यसपछि निर्वाचन संयोजक डा. यादवले आइतबार विज्ञप्ति जारी गर्दै दिउँसो ३ बजेदेखि वीरगञ्जको ‘क्लासिक ब्याङ्क्वेट’ मा कडा सुरक्षा घेराभित्र निर्वाचन गराउने नयाँ कार्यतालिका सार्वजनिक गरेका थिए।
Shares

प्रतिक्रिया