राजनीति


सिटौलाले भने: ‘शशांकसहित हामी ५-६ जनालाई पत्र आएको छ’

सिटौलाले भने: ‘शशांकसहित हामी ५-६ जनालाई पत्र आएको छ’

नेपालखबर
जेठ ३१, २०८३ आइतबार १६:४१, विराटनगर

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशमा लोकतन्त्र, समग्र मुलुक र संवैधानिक व्यवस्था नै संकटमा परेको उल्लेख गर्दै जनतालाई भयरहित अवस्थामा ल्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन्।

विराटनगरमा भएको नेपाली कांग्रेस संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै उनले जनतामा देखिएको निराशा र डरको वातावरणलाई चिर्दै उनीहरूलाई आश्वस्त पार्न पार्टीले नयाँ संकल्पका साथ काम गर्नुपर्नेमा जोड दिए।

उनले कोसी प्रदेशका सांसदहरू, विशेष गरी समानुपातिक सांसदहरू, यो ऐतिहासिक भेलामा आउन चाहेर पनि पद गुम्ने डर र विभिन्न प्रलोभनका कारण उपस्थित हुन नसकेको टिप्पणी गरे। राजनीतिक लाभ र पदको लोभले गर्दा धेरै साथीहरू खुलेर आउन नसकेको बताउँदै उनले यस्तो प्रवृत्तिले संगठनलाई मजबुत बनाउन नसक्ने धारणा राखे।

नेता सिटौलाले पार्टीलाई जीवन्त राख्न र आन्तरिक लोकतन्त्र बलियो बनाउनका लागि संख्या जतिसुकै भए पनि जिल्ला, क्षेत्र र पालिकाहरू सम्मै यस्ता विचार निर्माण गर्ने भेलाहरू आयोजना गर्न कार्यकर्तालाई आग्रह गरे।

उनले थोरै संख्यामा भए पनि आफ्ना स्पष्ट विचार राख्न र संगठन सुदृढीकरणका लागि निरन्तर छलफलमा जुट्न प्रेरित गरे। सम्बोधनका क्रममा उनले पूर्वमहामन्त्री डा. शशांक कोइराला र आफू लगायतका ५–६ जना शीर्ष नेताहरूका नाममा नेतृत्व तहबाट चिठी आएको प्रसंग समेत सार्वजनिक गरे।

सिटौलाले कांग्रेसले स्थापनाकालदेखि अगाडि सारेका मूल सिद्धान्त र आदर्शअनुसार नै पार्टीलाई अगाडि बढाउन सहज हुने भएकाले वर्तमान संकटपूर्ण घडीमा सबै नेता तथा कार्यकर्ताहरू आपसी मतभेद त्यागेर बृहत्तर एकताका लागि एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad