राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगतका राजनीतिक दलका अनुभवबाट सिकेर पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरेर अघि बढ्नुपर्ने बताएका छन्।
चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा नआउने दाबी गरेका हुन्।
उनले पार्टीभित्र त्याग र बलिदानको विषयमा असमान बुझाइ हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गरे। सभापति लामिछानेले कतिपय अवस्थामा अरूले गरेको त्याग र बलिदानलाई सहज रूपमा स्वीकार गर्ने तर आफूले त्याग गर्नुपर्दा कठिन महशुस गर्ने देखिन थालेको पनि बताए।
रास्वपाको पहिलो महाधिवेशन पार्टीभित्र रहेका असमझदारी र मनमुटाव अन्त्य गर्ने अवसर बन्नुपर्ने बताए।
उनले भने, ‘यतिबेला हामीले गुट उपगुटतिर नलागेर विगतका राजनीतिक दलका अनुभवहरुलाई हेरेर अगाडि बढ्ने हो भने रास्वपालाई लडाउने शक्ति अबको युगमा कोही पनि आउन सक्दैन। तर साथि हो कहिले काँही के हुँदो रहेछ भने त्याग र बलिदान भनेको अरुले गर्यो भने खुशी मान्ने आफूले गर्यो भने दुःख मान्ने कुरा हुने रहेछ। यसबाट सचेत रहनको लागि म अनुरोध गर्न चाहान्छु। यो ऐतिहासिक महाधिवेशनले हामी बीचमा पनि केही बैमनश्यता रहेछन् भने त्यसलाई अन्त्य गर्ने बिन्दु बनोस् भन्ने म चाहाना राख्न चाहन्छु।’
उनले महाधिवेशनले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउने विश्वास पनि व्यक्त गरे।
Shares

प्रतिक्रिया