राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पदाधिकारीमा असिम शाहबाहेक सबै सभापति रवि लामिछाने पक्षकै नेता निर्वाचित भएका छन्।
रास्वपा विधानअनुसार, पदाधिकारीमा ६ पदका लागि निर्वाचन हुने व्यवस्था छ। जसअनुसार, उपसभापतिमा महिलासहित दुई, महामन्त्री एक र सहमहामन्त्रीमा एक महिलासहित पदाका लागि निर्वाचन भएको हो।
पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन भएको थियो। नवनिर्वाचित केन्द्रीय सदस्यबाटै पदाधिकारी निर्वाचित भएका हुन्।
खुलातर्फ उपसभापतिमा बिहीबार नै डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए। अर्थमन्त्री समेत रहेका वाग्ले सभापति लामिछाने पक्षकै नेता हुन्।
सभापति लामिछानेले सर्वसम्मन पदाधिकारी चयन गर्ने प्रयास गरेका थिए। त्यसमा सहमति नजुटेपछि आज निर्वाचन भएको थियो।
महिलातर्फ उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन्। कानुनमन्त्री समेत रहेकी गौतम सभापति लामिछाने पक्षकै नेता हुन्।
शुक्रबार साँझ सम्पन्न निर्वाचन परिणामअनुसार, उपसभापतिमा डा. तोषिमा कार्कीले प्रतिस्पर्धा गरेकी थिइन्। उनी पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाह निकट रहेको रास्वपा नेताहरू बताउँछन्।
यस्तै, महामन्त्रीका विपिन आचार्य निर्वाचित भएका छन्। उनको रास्वपा स्थापनाभन्दा अघिदेखि नै लामिछानेसँग निकट सम्बन्ध रहेको छ। उनी रास्वपा संस्थापक सदस्य पनि हुन्। यसअघि उनी सहमहामन्त्री थिए।
महामन्त्रीमा मनीष झा, सागर ढकाल र गणेश कार्कीले प्रतिस्पर्धा गरेका थिए। ढकाल र कार्की प्रधानमन्त्री वालेन्द्र शाह पक्षका नेता हुन्। रास्वपाका संस्थापनकालकै सदस्य रहेका झाको पछिल्लो समय सभापति लामिछानेसँग केही दूरी बनेको थियो।
त्यस्तै, सहमहामन्त्रीमा खुलातर्फ हरि ढकाल र असिम शाह निर्वाचित भएका छन्। ढकाल लामिछाने पक्षका हुन् भने शाह प्रधानमन्त्री बालेन पक्षका हुन्। शाह प्रधानमन्त्री बालेनका राजनीतिक सल्लाहकार हुन्।
सहमहामन्त्रीका लागि खुलातर्फ रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरू र हिमेश पन्तले प्रतिस्पर्धा गरेका थिए।
महिलातर्फ सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएकी छन्। उनले ७३७ मत प्राप्त गरिन्। उनी सभापति लामिछाने पक्षकै नेता हुन्। महिलातर्फ सहमहामन्त्रीमा रिमा विश्वकर्मा, जुली यादव, विदुषी शर्मा र कामिनीकुमारी चौधरीले प्रतिस्पर्धा गरेका थिए।
Shares

प्रतिक्रिया