नेपाली काग्रेसको केन्द्रिय समिति बैठक आज (शुक्रबार) बस्दै छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालय सुरु हुनेछ।
गत आइतबार १४ वटा एजेन्डा प्रस्तुत मात्र गरेर रोकिएको बैठक आज पुनः बस्ने भएको हो।
बैठकको प्रमुख एजेन्डा नियमावली मस्यौदा पारित गर्ने र संघीय संरचनाअनुसार संगठन निर्माण गरी १४औँ महाधिवेशनको कार्यतालिका तोक्ने प्रक्रिया अघि बढाउने रहेको कांग्रेस नेताहरूले बताएका छन्।
यस्तै बैठकमा विधानको व्यवस्थाअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण गर्ने, २०७६ वैशाख २५ देखि जेठ २५ सम्म सञ्चालन भएको पार्टीको राष्ट्रिय जागरण अभियानको एकिकृत प्रतिवेदन र नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत हुने कांग्रेसका एक नेताले जानकारी दिए।
साथै बैठकमा समसामयिक राजनीतिक घटनामक्रम र सरकारको कार्यशैलीबारे पनि छलफल हुने जनाइएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति, कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संघ आदिबारे आजको बैठकले निर्णय लिनेछ।
शशांक कोइरालाको निवासमा छुट्टै भेला
आज हुने बैठकका लागि रणनीति बनाउन सभापतिइतर पक्षको बैठक बिहीबार महामन्त्री डा शशांक कोइरालाको निवासमा बसेको छ। उनीहरूले चाँडै महाधिवेशनमा जान सभापति शेरबहादुर देउवालाई दबाब दिने भएका छन्।
विधानअनुसार चाररचार वर्षमा हुने महाधिवेशन २०७६ फागुनमा हुनुपर्ने भए पनि सभापति देउवाले डेढ वर्ष कार्यकाल लम्ब्याउने घोषणा गरेपछि उनी इतिरका नेताहरु अर्को महाधिवेशनको मिति तय गरेर त्यहीअनुसार कार्यतालिका पारित गर्नुपर्ने पक्षमा छन्।
महाधिवेशन मुद्दालाई अनावश्यक ढंगले उठाइएको देउवा पक्षको बुझाइ छ। असन्तुष्ट पक्षले भने सभापति महाधिवेशन टार्ने खेलमा रहेको आशंका गरिरहेका छन्।

प्रतिक्रिया