नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयताका विषयमा प्रधानन्त्री वालेन्द्र शाहले मधेसी जनताको भावनामािथ खेलवाड गरेको टिप्पणी गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै आङदेम्बेले संघीयतामाथि खेलवाड गर्न नहुने बताएका हुन्। सरकारले संघीयता खारेज गर्न खोजेको उनको आरोप थियो। ‘सत्तारुढ दल संघीयता मास्नेतिर उद्यत भएको हो कि भन्ने अनुभूति भएको छ,’ उनले भने।
संघीयता मधेसी जनताको रगतबाट प्राप्त भएको उनले स्मरण गराए। ‘संघीयता सितिमिति आएको व्यवस्था होइन,’ उनले भने, ‘यसलाई तलमाथि गर्ने भनेर नसोचियोस्। बरु सोचियोस, कसरी सबलीकरण गर्ने भनेर।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा पेश भएको प्रदेश सभा खारेज गर्ने प्रस्तावमाथि उनले प्रश्न गरे। चुनावका बेला जनकपुर र झापामा संघीयता बलियो बनाउने भन्ने प्रधानमन्त्री शाहले चितवन पुगेपछि संघीयता खारेज गर्नतिर लागेको उनको आरोप थियो।
‘प्रधानन्त्रीजीले जनकपुरमा बोलेको कुरा चितवन पुग्दा कसरी भुल्नुभयो?,’ आङदेम्बेले प्रश्न गरे, ‘मधेशी जनताको इमोसनमाथि कसरी खेल्ने काम भयो?’
यस विषयमा प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछानेले जवाफ दिनुपर्ने बताए। चुनावको बेला संघीयता बलियो बनाउने आश्वासन दिएको भए पनि अहिले संघीयता कमजोर बनाउने काम भइरहेको जिकिर गरे।
Shares

प्रतिक्रिया