राजनीति


पूर्वमहामन्त्री सुनिल थापासहित ३१ जनाले छाडे राप्रपा, लगाए पाँच मुख्य आरोप (सूचीसहित)

पूर्वमहामन्त्री सुनिल थापासहित ३१ जनाले छाडे राप्रपा, लगाए पाँच मुख्य आरोप (सूचीसहित)

नेपालखबर
साउन १०, २०७७ शनिबार १५:२२,

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री सुनिलबहादुर थापासहित केही केन्द्रीय तथा स्थानीय नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिलसहित ३१ नेताले पार्टीले सिद्धान्त छाडेको, समावेशी हुन नसकेकोलगायत आरोप लगाउँदै शनिबार पार्टी छाडेको घोषणा गरेका हुन्।

पार्टीले पाएन सबल नेतृत्व
उनीहरुले सूर्यबहादुर थापाको निधनपछि पार्टी सबल र स्पष्ट दृष्टिकोणसहितको नेतृत्व नै पाउन नसकेको आरोप लगाएका छन्।

‘पार्टीले संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको नेतृत्वमा उदार प्रजातान्त्रिक दृष्टिकोण एवं परिवर्तनलाई आत्मसात् गर्ने नीतिको अनुशरण गर्दा राप्रपा कुनै समय देशको तेस्रो ठूलो दल तथा सही अर्थमा वैकल्पिक प्रजातान्त्रिक शक्ति भएको तथ्य पनि हाम्रासामु जगजाहेरै छ,’ विज्ञप्तिमा भनिएको छ।

राप्रपाले मुलुकमा समय समयमा भएका परिवर्तनलाई सहजताका साथ आत्मसात् गर्दै अग्रगामी मार्ग अवलम्बन गरेकाे बताउँदै सो समूहले राप्रपा टुटफुट र गुटका निरन्तर श्रृंखला पार गर्दै पहिलो तथा दोस्रो संविधानसभा निर्वाचनमा निसर्त सहभागी बनेको तथ्य स्मरण गराएको छ।

‘दोस्रो संविधानसभाले निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा पार्टी सक्रिय सहभागी भएको र त्यसको अपनत्व र स्वामित्व लिँदै संविधान कार्यान्वयनका लागि गणतान्त्रिक संविधानअन्तर्गत गठित सरकारहरुमा सहभागी हुँदै आएको हो,’ उनीहरुले भनेका छन्, ‘यसरी राप्रपा परिवर्तनको प्रवाहमा समाहित हुँदै प्रजातान्त्रिक मूल्य र मान्यताको अडानमा स्पष्ट रुपमा उभिँदै आएको सर्वविदितै छ।’

तर, पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको निधनपछि पार्टीले सबल नेतृत्व गुमाउनाका साथै पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा पनि विचलन देखापरेको उनीहरुको आरोप छ।

पार्टीलाई बनाइयो ढुलमुले, दिशाहीन
अहिलेको नेतृत्वका कारण पार्टी दिशाहीन बनेको उनीहरुको ठहर छ।

‘संविधान निर्माणमा निसर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रति आम रुपमा विश्वास समाप्त भएको मात्र छैन, संस्थापकहरुको सपनामा पनि आघात पुगेको छ। राप्रपाको द्वेध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले निराशाजनक पराजय भोग्नुपरेको थियो।’ 

समावेशितालाई बेवास्ता
उनीहरुले पार्टीलाई भागबण्डाको सिकार बनाउँदै समावेशी बनाउन नसकेको आरोप लगाइएको छ।

‘पार्टी एकतापछि पनि त्यही अस्पष्ट दृष्टिकोण कायम छ भने एकतापछिको सचिवालय कार्यव्यवस्था समितिसहित विभिन्न निकायको गठनमा समावेशीतालाई पूरै बेवास्ता गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको सबैभन्दा महत्वपूर्ण समितिमा महिला, मधेसी, थारु र दलितको प्रतिनिधित्व हुन सकेको छैन। मधेसी समुदायको प्रतिनिधित्वलाई उपेक्षा गरिएको छ।’

एकतापछि बनेको केन्द्रीय कार्य समितिमा लामो समयदेखि केन्द्रीय कार्यसमितिमा रही योगदान पुर्‍याएका महत्वपूर्ण नेताहरुलाई समेत समावेश नगरिएको हुँदा क्षेत्रगत असन्तुलन र विभेद प्रस्टै देखिएको उनीहरुको भनाइ छ।

देशको संविधान, कानुन र पार्टीको विधानले निर्दिष्ट गरेको समावेशी सिद्धान्तको पालना नभएको र कैयौं जिल्लालाई केन्द्रीय प्रतिनिधित्वबाट नै वञ्चित गरिएको उनीहरुले बताएका छन्।

‘पार्टी, संस्थापकहरुले देखाएको सपना, परिवर्तनप्रति पार्टीको प्रतिबद्धता र आम जनमतविपरित पार्टी गएकामा हामीले विगतमा निरन्तर खबरदारी गर्दै आएको पार्टीपंक्ति जानकार नै छ,’ विज्ञप्तिमा उल्लेख छ।

ढुलमुले नेतृत्व, जनमतको अपमान
उनीहरुले पार्टीको अहिलेको नेतृत्व ढुलमुले दृष्टिकोणमा अघि बढिरहेको आरोप लगाएका छन्।

पार्टी एकीकरणपछि पनि आम आकर्षण नबढेको, नेतृत्व जनमतको प्रतिकुल दिशातर्फ गएपछि आफूहरु जनमतको अपमान हुने कार्यमा साथ दिन नसक्ने निस्कर्षमा पुगेको उनीहरुको दाबी छ।

उदार प्रजातान्त्रिकको पक्षमा रहने
उनीहरुले अब उदार प्रजातन्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्दतिका पक्षमा निरन्तर रहने जनाएका छन्।

संयुक्त राजीनामा र पार्टी परित्याग गर्ने नेताहरुको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad