नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाको भिसासम्बन्धी नीतिमा कुनै परिवर्तन नभएको जनाएको छ।
‘अमेरिका भ्रमण गर्ने वा बसाई सर्ने तथा कम्युनिस्ट पार्टिका सदस्य वा सर्वसत्तावादी पक्षधरहरु सम्बन्धमा हाम्रो दशकौं पुरानो नीतिमा कुनै परिवर्तन नगरिएको प्रष्ट पार्न चाहन्छौं,’ दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
दूतावासले नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरुमा अमेरिका बसाई सर्नबाट स्वतः बन्देज नलाग्ने प्रष्ट्याएको छ। ‘भिसासम्बन्धी हरेक मामिलालाई छुट्टाछुट्टै रुपमा निर्णय गरिन्छ,’ दूतावासले जनाएको छ।
पहिलेदेखि नै अमेरिकामा रहेका मानिसले गर्ने अध्यागमनसम्बन्धी निवेदनबारे अमेरिकी नागरिक तथा अध्यागमन सेवा (यूएससीआईएस) ले हालै जारी गरेको प्रशासनिक निर्देशिकाका सम्बन्धमा गलत ढंगबाट समाचार आउँदा अन्योल भएको उसले जनाएको छ।
सन् १९५२ मा अमेरिकी कांग्रेसले पारित गरेको अध्यागमन तथा राष्ट्रियता सम्बन्धी ऐन (आईएनए) ले कम्युनिस्ट वा अन्य कुनै सर्वसत्तावादी पार्टीसँगको आवद्धताका आधारमा त्यस्ता व्यक्तिलाई अमेरिका बसाई सर्नबाट रोक लगाएको उसले जनाएको छ।
‘त्यो कानुनमा थुप्रै अपवाद र छुटहरु दिएको र त्यसले अमेरिका आप्रवासनमा आउनका लागि याेग्य ठहरिने सदस्यलाई अनुमति दिन्छ,’ उसले भनेको छ, ‘सो ऐनले गैर–आप्रवासन भिसामा अस्थायीरुपमा अमेरिका भ्रमण गर्नका लागि प्रभाव पार्दैन।’
अमेरिकाले नेपालको बहुदलीय लोकतन्त्रको सम्मान गर्दै यहाँका निर्वाचित सरकारसँग सहकार्य गरिरहने दूतावासले जनाएको छ।

प्रतिक्रिया