साझा पार्टी र विवेकशील नेपाली दलबीच बुधबार औपचारिक रुपमा पुनः एकता घोषणा भएको छ।
दुई वर्षअघि फुटेका दुबै दलबीच बुधबार पुनः एकता घोषणा भएको हो। एकता घोषणापत्रमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन्।
एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ। पार्टीको पहिलो वरियतामा अध्यक्ष मिश्र र दोस्रो वरियतामा संयोजकमा पाण्डे रहने छन्।
एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह साझा पार्टीले प्रयोग गर्दै आएको तराजु नै राख्ने सहमति भएको छ। नयाँ पार्टीको केन्द्रीय समितिमा दुबै पार्टीका ६५–६५ जना गरी १३० जना सदस्य रहने छन्।
एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट बराबरीको सङ्ख्या (१३-१३ जना) मा सदस्यहरू रहने केन्द्रीय सचिवालय गठन गर्ने सहमति भएको छ।
एकता महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि एकीकृत पार्टीको केन्द्रीय समितिले अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाई सोही अनुरूप पार्टीका काम कार्यवाहीहरू अगाडि बढाइने भएको छ।
सोही कार्यविधि अनुसार दुई महिनाभित्र दुवै पार्टी मातहतका हाल रहेका सम्पूर्ण संरचनाहरू गठन, पुनर्गठन र समायोजन सम्पन्न गरिनेछ।
पार्टी एकीकरणको सम्झौता भएको मितिले ६ महिना भित्र पार्टीको एकता महाधिवेशन सम्पन्न गरिने समझदारी भएको छ।
२०७४ साउन ११ गते पहिलोपल्ट साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको थियो। सोही वर्ष भएको आम निर्वाचनमा उनीहरुले विवेकशील–साझा पार्टीका नामबाट चुनाव लडेका थिए।
तर २०७५ पुसमा रवीन्द्र मिश्र समूहले एक्लै पार्टी चलाउन खोजेको भन्दै अर्का संयोजक उज्ज्वल थापासहितको समूहले छुट्टै विवेकशील पार्टी दर्ता गरेपछि पार्टी फुटेको थियो।
यसबीच विवेकशीलको नेतृत्वमा पाण्डे निर्वाचित भएपछि यी दुई दलबीच पुनः एकिकरणको प्रक्रिया सुरु भएको थियो।
गत असारयता दुबै पार्टीले एकताका लागि कार्यदल गठन गरेका थिए। सोही कार्यदलले दिएको प्रतिवेदनका आधारमा अहिले पार्टीबीच एकता घोषणा भएको हो।
कार्यदलले दुई संयोजक रहने गरि प्रतिवेदन दिए पनि त्यसको चर्को विरोधपश्चात एक अध्यक्ष र एक संयोजक रहने गरी पार्टी एक भएका हुन।
जनताले हामीलाई विकल्प हैन, निर्विकल्प नेतृत्वका रुपमा चयन गर्नेछनः रविन्द्र मिश्र
नव एकिकृत पार्टी विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रले आउँदा निर्वाचनमा जनताले आफूहरुलाई विकल्प नभएर निर्विकल्प नेतृत्वका रुपमा चयन गर्ने विश्वास व्यक्त गरेका छन।
साझा र विवेकशील पार्टीबीच बुधबार पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुले विगतको गल्तीलाई सुधारेको बताए।
‘सामाजिक सञ्जालमा कति चोटी जुट्ने–फुट्ने भनेर प्रश्न उठाएको देख्छौं। कति चोटी हैन। एकचोटी टुट्टौं र अहिले जुट्औं,’ मिश्रले भने, ‘अब विवेकशील साझालाई अटल राख्नुपर्छ। यो देशको नेतृत्व गर्ने पार्टी बनाउँनुपर्छ। देशको नेतृत्व गर्नेस्तरमा पुगेनौं भने दुर्भाग्य हुन्छ। आउँदा निर्वाचन विकल्प हैन, निर्विकल्प नेतृत्वका रुपमा चयन गर्नेछन भन्ने विश्वास लिएका छौं।’
आज भष्ट्रचारविरुद्धको दिवसका दिन पार्टी एकता गरेको सन्दर्भ उठाउँदै मिश्रले विवेकशील साझा पार्टीको मुख्य मान्यता भष्ट्रचारप्रति शुन्य सहनशिलता भएको बताए।
‘प्रधानमन्त्रीले आज भष्ट्रचारीलाई अपराधि हुन भन्नुभएको छ। भष्ट्रचार गर्ने अपराधि हुन भने प्रधानमन्त्री अपराधि अपराधिबाट घेरिनुभएको छ,’ मिश्रले भने।
यस्तै नव एकिकृत पार्टीका संयोजक मिलन पाण्डेले विगतमा राजनैतीक दुर्घटना भएको भन्दै विगतबाट पाठ सिक्दै एकतामा आएको बताए।
उनले विवेकशील साझाको वैकल्पिक, सुस्कृतिक राजनीति गर्ने इमान्दार प्रयास भएको बताए। उनले जितजित, सहअस्तित्वका बीच दुबै पार्टीबीच एकता भएको बताए।
दुबैमा असन्तुष्टि
पुनः एकतामा जाने विषयमा भने विवेकशील पार्टीभित्र असहमति रहदै आएको थियो। सोही असमतिकाबीच विवेकशीलले बहुमतका आधारमा एकतामा जाने निर्णय गरेको हो।
असमति राख्नेहरुमा विवेकशिलका पूर्व संयोजक उज्ज्वल थापा, प्रभावशाली नेता गोविन्द नारायण, उपाध्यक्ष अजिता राईलगायत थिए।
उनीहरुले विवेकशीललाई नै अघि बढाउनुपर्ने माग राखेका थिए। तर बहुमतले साझासँग एकता गर्ने निर्णय गरेपछि उनीहरु एकता प्रक्रियामा सहभागी भएनन।
यता साझा पार्टीका तत्कालिन प्रवक्ता डा. सुर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनालले पनि विवेकशीलसँग एकता अघि बढाउने भएपछि साझाबाट राजीनामा दिएका छन।
उनीहरुले पार्टीका सबै संरचना भंग गर्दै पुन: शून्यबाट अघि बढ्नुपर्ने माग राखेका थिए।
तर साझाका बहुमत सदस्यले भने अहिलेको संरचना कायम राख्दै पार्टी एकता गर्दै जानुपर्नेमा मत जाहेर गरेपछि असन्तुष्टि जनाउँदै उनीहरुले पार्टी छोडेका हुन।

प्रतिक्रिया