राजनीति


कोरोना संक्रमित भई आईसीयू र भेन्टिलेटरको उपचारपछि सांसद विश्वकर्माले व्यक्त गरे यस्तो अनुभव र आभार

कोरोना संक्रमित भई आईसीयू र भेन्टिलेटरको उपचारपछि सांसद विश्वकर्माले व्यक्त गरे यस्तो अनुभव र आभार

नेपालखबर
पुस २, २०७७ बिहिबार ९:७,

कोरोना संक्रमित भई सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरको उपचारपछि घर फर्केका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मीनबहादुर विश्वकर्माले यस अवधिमा सहयोग र शुभेच्छा दिने सबैप्रति आभार व्यक्त गरेका छन्।

कोभिड–१९ बाट संक्रमित भएपछि ३६ दिन अस्पतालमा उपचार गराएर १६ दिनअघि घर फर्केका विश्वकर्माले आफू अझै पनि पूर्णरुपमा तन्दूरुस्त भइनसकेको बताएका छन्।

स्वास्थ्य अवस्थामा क्रमिक सुधार भए पनि अझै लगातार बोल्न र हिड्न नसकेको उनले जानकारी दिएका छन्।

‘म ग्रान्डी अस्पतालको आईसीयू र भेन्टिलेटरमा अचेत अवस्थामा मृत्युसँग लडिरहदा मेरो स्वास्थ्य अवस्थाबारे हरपल चासो राखी सञ्चार माध्यमबाट निरन्तर सूचना प्रवाह गर्ने सबै प्रिय संचारकर्मी साथीहरु, मलाई बचाउन स्वदेश तथा बिदेशबाट भगवानसँग प्रार्थना गरी आस्था बमोजिम पुजा गर्ने सम्पूर्ण मेरा प्रिय साथीहरू, परिवार एवं आफन्तजन प्रति हार्दिक नमन गर्दछु,’ उनले भनेका छन्।

उनले बिहीबार जारी गरेको वक्तव्यको पूर्ण पाठः

धन्यवाद तथा आभार व्यक्त
कोभिड–१९ बाट संक्रमित भई स्वास्थ्यमा समस्या आएको कारण कार्तिक ९ गते वीर अस्पताल र ११ गते स्वास्थ्य अवस्था झन जटिल भएपछि राती ११ बजे धापासी स्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा चिन्ताजनक अवस्थामा पुर्‍र्याइएको थिए।

बरिष्ठ चिकित्सक डा. सुभाष आचार्यको प्रत्यक्ष एवं आत्मीय निगरानीमा उक्त अस्पतालका चिकित्सकहरुको समूहसँगै अति स्नेही सेवा गर्ने नर्सहरुले मलाई पुनर्जीवन दिएको महशुस गरेको छु।

उक्त सफल परिणामका लागि मुख्य अभिभावकको रुपमा अहोरात्र लागि पर्ने आदरणीय पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टी पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरु एवं केन्द्रीय सदस्यहरु, प्रमुख सचेतक माननीय बालकृष्ण खाणको सक्रियता र योगदान अविस्मरणीय मात्रै होइन हृदयस्पर्शी पनि भएको पाएको छु।

साथै नेपाली कांग्रेस पार्टीका विभिन्न तहका नेता एवं कार्यकर्ता साथीहरुले व्यक्त गर्नु भएको शुभेच्छाले मेरो मनोबल उच्च बनाएको छ।

सुरुकै अवस्थादेखि मेरो स्वास्थ्यबारे चासो र चिन्ता व्यक्त गर्दै प्रभावकारी उपचारका लागि कृयाशिल हुनु हुने सम्माननीय सभामुख, कानुन समितिका सभापति, माननीय सांसदहरु र संसदका महासचिव लगायत सबै कर्मचारी मित्रहरुप्रति हार्दिक आभार प्रकट गर्दछुा

मेरो स्वास्थ्य अवस्था जटिल बन्दै जादा माया र चिन्ताले दलित आन्दोलनका सहयात्री विभिन्न राजनैतिक सङगठन तथा नागरिक समाजका अग्रज नेताहरुले देखाउनु भएको अभुतपुर्व एकता, माया, सहयोग र सरकारलाई दिएको प्रभावकारी दवावले मलाई उद्देलित गराउँदै थप हौसला बढाएको छ।

साथै जीवन र मृत्युको दोसाँधमा हुँदा महामहिम राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, माननीय स्वास्थ मन्त्री लगायत माननीय मन्त्रीहरु एवं पूर्व सभामुख माननीय सुभास नेम्वाङले थप उपचारका लागि गर्नु भएको प्रयास र योगदानले मलाई भावुक बनाएको छ।

म ग्रान्डी अस्पतालको आईसीयू र भेन्टिलेटरमा अचेत अवस्थामा मृत्युसँग लडिरहदा मेरो स्वास्थ्य अवस्थाबारे हरपल चासो राखी सञ्चार माध्यमबाट निरन्तर सूचना प्रभाह गर्ने सबै प्रिय संचारकर्मी साथीहरु, मलाई बचाउन स्वदेश तथा बिदेशबाट भगवानसँग प्रार्थना गरी आस्था बमोजिम पुजा गर्ने सम्पुर्ण मेरा प्रिय साथीहरू, परिवार एवं आफन्तजन प्रति हार्दिक नमन गर्दछु।

अन्त्यमा, ३६ दिनको अस्पताल बसाईपछि घर आएको पनि आज १६ दिन भयो। स्वास्थ्य अवस्थामा क्रमिक सुधार भए पनि अझै लगातार बोल्न र हिड्न सकिरहेको छैन।

अतः लामो समयपछि आजदेखि सामाजिक सञ्जालमा उपस्थित भएको छु। फोन कल होइन सन्देश लेख्न अनुरोध गर्दछु।

जय नेपाल !
मीनबहादुर विश्वकर्मा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad