सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आइरहनु आफूहरुका लागि खुसीको विषय भएको बताएका छन्।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलानमा सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले नेपाल र भारतबीच उच्च तहमा छलफल हुनु खुसीको कुरा भएको बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर पत्रकारले सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन्।
‘हाम्रा साझा परियोजना र समस्या छन्’, उनले भने, ‘तिनको समधानको निम्ति उच्च राजीतिक तहमा छलफल र बहस हुन, निकास निस्कनु खुसीको कुरा हो।’ उनले दुई असल छिमेकीबीच असल मित्रतापूर्ण सम्बन्ध प्रगाढ हुनु राम्रो कुरा भएको भन्दै उनले यो भइनै रहने बताए।
चिनियाँ पक्ष आउने कुरा कुरा मात्रै भएको प्रत्रकारको प्रश्नको जवाफ दिँदै उनले यो सडकमा हल्ला नगर्ने विषय भएका बताए। उनले चिनियाँ पक्षको उच्चस्तरीय भ्रमणलाई लिएर आफूहरु तीव्र आशावादी र तीव्र प्रतीक्षामा रहेको बताए।
‘विश्वको महाशक्ति बन्दै गरेको राष्ट्रबाट उच्च स्तरीय भ्रमणका लागि नेपाली जनताले तीव्र र व्यग्र प्रतीक्षा गरिरहेका छन्’, मन्त्री बाँस्काेटाले भने, ‘वेलकमका लागि ३ कारोड नेपालीका ६ करोड आँखा, ६ करोड हात र ६ करोड मनहरु तयार भएर बसेको अवस्था हो।’
उनले चिनियाँ उच्च नेतृत्वको भ्रमणलाई लिएर दुवै देशका तर्फबाट त्यसको तयारी भएको बताए। उनले उच्चस्तरीय भ्रमण दुई छिमेकी र सबै देशसँग तीव्र बनाउने सरकारको पोलिसी नै रहेको बताए।

प्रतिक्रिया