प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज पनि बस्दै छ।
बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बैठक बस्न लागेको हो।
स्थायी समिति सदस्य लीलामणि पोखरेलले बैठकमा आन्दोलनका थप कार्यक्रम र संगठनबारे छलफल हुने बताए।
‘आन्दोलनका कार्यक्रम र संगठनबारे छलफल गर्ने एजेन्डा रहेको छ’, पोखरेलले नेपालखबरसँग भने।
यसअघि बिहीबार बसेको बैठकमा आगामी आन्दोलन कसरी अघि बढाउने, संगठन व्यवस्थापन, कार्यकर्ता भेला, निर्वाचन आयोग र सर्वोच्च अदालतमा भइरहेका कामको बारेमा छलफल भएको थियो।
शुक्रबारको बैठकमा आन्दोलनका कार्यक्रम र संगठन बारेमा छलफल केन्द्रित हुने पोखरेलले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भएको छ। महासचिव विष्णु पौडेल प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेपछि रिक्त रहेको उक्त स्थानमा कसलाई लैजाने भन्नेबारेमा प्रचण्ड–नेपाल समुहमा छलफल भए पनि अहिले सम्म टुंगो लाग्न सकेको छैन।
त्यस्तै प्रचण्ड–नेपाल समूहले ओली पक्षमा लागेका जिल्ला अध्यक्ष र सचिवबारे पनि आजको बैठकमा छलफल गर्ने भएको छ।

प्रतिक्रिया