राजनीति


आइतबारसम्म सबै प्रदेशमा कोरोना खोप पुर्‍याइने, ढिलोमा १८ गतेदेखि लगाउने सरकारको तयारी

आइतबारसम्म सबै प्रदेशमा कोरोना खोप पुर्‍याइने, ढिलोमा १८ गतेदेखि लगाउने सरकारको तयारी

यज्ञराज जोशी
माघ १०, २०७७ शनिबार ९:५७,

पुस अन्तिम साता कार्यकाल सम्हालेको १५ दिनका पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्री हृदेयश त्रिपाठीले आफ्नो ध्यान कोरोना खोप ल्याउन केन्द्रित भएको र खोप भित्रिएको एक साताभित्र नागरिकलाई लगाइसक्ने गरी कार्ययोजना बनाएको बताएका थिए।

स्वास्थ्य मन्त्री त्रिपाठीले उक्त कुरा भनेको १० दिनपछि भारतले नेपाललाई अनुदानमा दिएको १० लाख डोज खोप नेपाल आइपुग्यो। तर, काठमाडौं आइपुगेको तीन दिनसम्म पनि खोप काठमाडौँमै थन्किएको छ। अग्रपंक्तिमा खटिनेलाई लगाइने भनिएको उक्त खोप प्रदेश र जिल्ला तहमा पुर्याउन सरकारले सकेको छैन। सोहीकारण मन्त्रीले भनाइ र सरकारी तयारीमा आशंका उब्जिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुक्रबार नेपालमा खोप प्राप्त भएको ७ औं दिन अर्थात माघ १४ गतेदेखि खोप अभियान शुभारम्भ हुने बताएका थिए। तर, स्वास्थ्य सेवा विभागले आइतबार बिहानमात्रै खोप लोड भएका गाडीहरु प्रदेशका कोल्डस्टोरमा जाने बताएकाले त्यही दिनबाट खोप अभियान सुरु हुनेमा आशंका उब्जिएको हो।

No description available.

‘आजै (शनिबार) पठाउने कुरो थियो तर विप्लवको बन्द तथा खोपको साइड इफेक्ट देखियो भने चाहिने स्वास्थ्य सामग्री पनि सँगै पठाउनुपर्ने भएकाले सम्भवतः भोलि (आइतबार) बिहानसम्म खोप लिएर गाडीहरु प्रदेशतर्फ लाग्छन्,’ स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले भने, ‘कुन प्रदेशमा कति पठाउने भन्ने टुंगो लागिसक्यो। १४ गतेदेखि १८ गतेसम्म खोप अभियान सुरु गर्ने कुरो हो।’

विभागको कोल्डस्टोरबाट दुई वटा ट्रकले देशभरका कोल्डस्टोरमा खोप लैजाने छन्। एउटामा बागमती, प्रदेश २ र प्रदेश १ का कोल्डरुममा र अर्कोमा ट्रकमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि पठाउने तयारी विभागको छ।

तिंकरीले भारतबाट उपलब्ध भएको १० लाखमध्ये ४ लाख ५० हजार खोप मात्रै अहिले प्रदेशमा पठाउन लागिएको बताए। उनले यो पहिलो डोजको खोप भएको र २८ दिनभित्र लगाइसक्नुपर्ने दोस्रो डोज दोस्रो चरणमा पुर्याइने जानकारी दिए।

प्रदेशमा खोप पुगेपछि उनीहरुले नै जिल्लाहरुमा आवश्यकता अनुसार खोप पठाउने छन्। अस्पतालहरुबाट नै खोप लगाउने सरकारी तयारी छ। सात प्रदेश र ७७ जिल्लामा गरी करिब ३ सय विभिन्न अस्पतालबाट खोप लगाउने योजना मन्त्रालयको छ। काठमाडौँ उपत्यकाभित्र विभिन्न १० भन्दा बढी अस्पतालबाट खोप लगाइनेछ।

सरकारले कुन जिल्लामा कसले खोप पाउने भन्ने तथ्यांक अझै यकिन गरिसकेको छैन। मन्त्रालयले बिहीबार खोप आएपछि बल्ल अग्रपंक्तिमा खटिएकाहरुको विवरण अनलाइनमार्फत पठाउन सम्बन्धित संस्थालाई निर्देशन दिएको थियो।

उक्त विवरण भर्ने म्याद आज (शनिबार)सम्म तोकिएको छ। संघ, प्रदेश र स्थानीय तहमा सूचीकृत भएका सबै प्रकारका स्वास्थ्य संस्था तथा अंग्रपन्तिमा खटिएकाहरुले आजसम्म विवरण भरेपछि बल्ल खोप लगाउनेको सूची तयार हुनेछ।

मन्त्रालयले पहिलो चरणमा स्वास्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शहवाहन चालक, कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई खोप लगाउने भएको छ।

त्यस्ता व्यक्तिहरुको सूची सम्बन्धित संस्था प्रमुखद्वारा प्रमाणित गरी मन्त्रालयद्वारा उपलब्ध गराइएको वेवसाइटमा अपलोड गर्नुपर्ने सूचनामा उल्लेख छ। खोप लगाउन आवश्यक पर्ने सिरिन्ज लगाएतका सामग्रीको भने अभाव नभएको व्यवस्थापन महाशाखा प्रमुख तिंकरीले बताए।

शनिबार मन्त्रालयले खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक समेत तोकेको छ। खोप अभियानलाई व्यवस्थित बनाउन उनीहरुले समन्वयनकारी भूमिका खेल्नेछन।

मन्त्रालयले प्रदेश १ का लागि डा. तारानाथ पोखरेल, प्रदेश २ का लागि डा. मदनकुमार उपाध्याय, बागमती प्रदेशका लागि डा. गुणराज लोहनी, गण्डकी प्रदेशका लागि प्रा. डा. जागेश्वर गौतम, लुम्बिनी प्रदेशमा डा. विकास देवकोटा, कर्णाली प्रदेशमा डा. अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा डा. कृष्ण पौडेललाई खोप व्यवस्थापनका लागि संयोजक तोकेको छ।

लुम्बिनी प्रदेशको संयोजकमा तोकिएका डा. विकास देवकोटाले काठमाडौंबाट प्रदेशमा खोप लाने, त्यहाँ सम्बन्धितलाई हस्तान्तरण गर्ने, जिल्लामा आवश्यकता अनुसार सुनिश्चित गर्ने, खोप केन्द्र हेर्ने लगायत समन्वयनको जिम्मेवारी आफूहरुले गर्ने बताए।

No description available.

भारतले दिएको दश लाख डोज खोप खेर जाने गरेर साढे ४ लाख मानिसलाई लगाउँन सकिने मन्त्रालयको अनुमान छ। तर नेपालमा अग्रपंक्तिमा खटिनेहरुको संख्यामात्रै ९ लाख बढी रहेको छ। बाँकीका लागि यथाशीघ्र चाँडो खरिदको प्रक्रियामा जाने मन्त्री त्रिपाठीले बताएका छन्।

स्वास्थ्य मन्त्रालयले गठन गरेको खोप विज्ञ समूहका सदस्य डा. झलक शर्मा गौतमका अनुसार नेपालका २ करोड १६ लाख जनतालाई खोप लगाउने सरकारको तयारी छ। त्यसका लागि खेर जाने समेत जोडेर करिब ५ करोड डोज खोप चाहिने आँकलन गरिएको छ।

पहिलो चरणमा अंग्रपंक्तिमा खटिएकाहरुलाई लगाएपछि दोस्रो चरणमा ५५ वर्षमाथिका जेष्ठ नागरिक र र दीर्घ रोगीलाई खोप लगाउने तयारी गरिएको छ। उक्त समूहको संख्या नेपालमा ५१ लाख रहेको मन्त्रालयले जनाएको छ।

यस्तै तेस्रो चरणमामा ४० देखि ५४ वर्षका २९ लाख र १५ देखि ३९ वर्षका बाँकी १ करोड २७ लाखलाई अन्तिम चरणमा खोप दिने योजना सरकारको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .