नेपाली कांग्रेसका नेता धनराज गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई संवैधानिक आयोगहरुमा गरिएका नियुक्तिहरुको खारेजीको माग गर्न आह्वान गरेका छन्।
उनले ती आयोगहरुमा असंवैधानिक तरिकाबाट गरिएका नियुक्तिहरुको आफूलगायत कांग्रेसका केहि नेताहरुले विरोध गरिसकेको तर पार्टी सभापति देउवाबाट पनि त्यसको विरोध हुनुपर्ने जनाएका छन्।
‘संवैधानिक आयोगहरुमा असंवैधानिक तरिकाबाट गरिएका नियुक्तिहरुको हामीले व्यक्तिगत रुपमा विरोध जनायौं,’ पूर्वसांसद गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय सभापति शेरबहादुर देउवाज्यू, अब यी नियुक्तिहरुको खारेजीको माग गर्दै संस्थागत रुपमा पार्टीले निकाल्ने वक्तव्यको पर्खाइमा छु।’ उनले भनेका छन्।
केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटन र हालै संवैधानिक आयोगमा गरेका नियुक्तिको पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, गगन थापा, गुरुङ लगायतले खुलेर विरोध गरेका छन्। सभापति देउवाले भने ओलीका कदमप्रति नरम शैली अपनाउँदै आएका छन्।
नेकपाको प्रचण्ड–नेपाल पक्षले तिनै नियुक्तिको विरोधमा आज बिहीबार देशभर आमहडताल गरेका बेला कांग्रेस नेता गुरुङले आफ्नै पार्टी सभापति देउवामाथि त्यसमा संस्थागत विरोध गर्न दबाब दिएका हुन्।
संबैधानिक आयोगहरुमा असंवैधानिक तरिकाबाट गरिएका नियुक्तिहरुको हामीले व्यक्तिगत रुपमा बिरोध जनायौं। आदरणीय सभापति @DeubaSherbdr ज्यु! अब यी नियुक्तिहरुको खारेजीको माग गर्दै संस्थागत रुपमा पार्टीले निकाल्ने वक्तव्यको पर्खाइमा छु।
— Dhan Raj Gurung (@dhanrgrg) February 4, 2021

प्रतिक्रिया