राजनीति


प्रधानमन्त्री ओलीले द्वन्द्व निम्त्याउन खोजे : नेपाल

प्रधानमन्त्री ओलीले द्वन्द्व निम्त्याउन खोजे : नेपाल

नेपालखबर
माघ २९, २०७७ बिहिबार १३:४७,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व निम्त्याउन खोजेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित प्रशिक्षण भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले छापामार शैलीमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर ओलीले द्वन्द्वलाई निम्त्याएको बताएका हुन्। तात्कालिन शाही शासन कालमा पनि राजसंस्थाका पदाधिकारीमाथि टिकाटिप्पणी हुने गरेको र त्यसो गरेवापत कसैलाई पक्राउ नगरिएको भन्दै उनले वर्तमान सरकारले भने दिन दहाडै हतियार सहितका प्रहरी पठाएर झाँक्रीलाई पक्राउ गर्ने काम गरेको बताए।

उनले भने, ‘उहाँ द्वन्द्व निम्त्याउन लाग्नु भएको छ। हिजो राजा विरेन्द्रकी श्रीमती ऐश्वर्यलाई पम्फादेवीको बैंक खाता छ कि क्या हो? भनेर तेत्रो नारा लाग्यो। बोलेका होइनन्? तर कोही मान्छे गिरफ्तार भएका थिए? आज त राष्ट्रपतिमाथि केही पनि बिग्रिएको होइन। उहाँले राष्ट्रपतिको गरिमामय पद र मर्यादामा होइन त्यही हैसियतमा उहाँले गरेका कामहरुमा महिला भएर उन्मुक्ति पाउनुहुन्न भन्नुभएको हो। कोही पनि मान्छे आलोचना भन्दा माथि हुनसक्छन्? संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेर बोलेको होइन। मेरो सरकार भन्न पाईन्छ?’

अध्यक्ष नेपालले नेतृ झाँक्रीलाई अपराधीलाई पक्रे जसरी पक्राउ गरेको सरकारसँग अपराधी, भ्रष्टाचारी, तस्कर र बलात्कारीलाई गिरफ्तार गर्नेे हिम्मत नभएको बताए। उनले आफूलाई चिडियाखानामा राखिदिने भनी अभिव्यक्ति दिने गृहमन्त्री रामबहादुर थापालाई कारवाही हुन्छ कि हुँदैन भनी प्रश्न गरे।

उनले भने, ‘बोल्न पनि नपाउने? भन्न पनि नपाउने? मुखमा टेप लगाएर बस्नुपर्ने? अपमानजनक कुनै कुरा भनेको पनि लाग्दैन, तर हेर्नुहोस् त दिन दहाडै हतियारबद्ध प्रहरीहरु पठाएर कुनै अपराधीलाई गिरफ्तार गर्न गएजस्तो। हिम्मत छैन अपराधीलाई गिरफ्तार गर्ने। चरम भ्रष्टाचारीहरु खुल्ला हिडिरहेका छन्। तस्कर, माफियाहरु खुल्ला हिँडिरहेका छन्। राज्यको सम्पतिको दोहन गर्ने, जनविरोधीहरु खुल्ला हिँडिरहेका छन्। बलात्कारीहरु खुल्ला हिडिरहका छन्। कतिले न्याय पाए? कतिजना थुनामा परे? कतिजना राज्यको दण्ड भोगिरहका छन्? यसको जवाफ छ? बलात्कारीलाई कारवाही गर भन्दा यो त प्राकृतिक प्रक्रिया हो नि भन्ने अनि आफ्नो अध्यक्षलाई चिडियाखाना राखिदिने भन्ने। यस्तो बोले वापत उनीमाथि कारवाही हुन्छ कि हुदैन?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .