अमेरिकाका एक वरिष्ठ सांसद फ्र्यांक पालोनले भारतको विद्युतीय प्रणालीमा भएको चिनियाँ साइबर हमला घटनामा भारतको पक्ष लिन आफ्नो सरकारलाई अपिल गरेका छन्।
मंगलबार ट्विट गर्दै सांसद फ्र्यांकले भनेका छन्, ‘अमेरिकाले आफ्नो रणनीतिक साझेदारलाई साथ दिन जरुरी छ र भारतको पावर ग्रिडमा चीनले गरेको खतरनाक हमलाको विरोध गर्नुपर्छ। यस आक्रमणका कारण भारतको अस्पतालमा विद्युत् बन्द भयो र जेनेरेटरको सहारा लिनपर्यो।’
उनले अगाडि लेखेका छन्, ‘हामी चीनलाई शक्ति र धम्कीको आडमा यस क्षेत्रमा प्रभुत्व कायम गर्न दिन सक्दैनौं।’
The U.S. must stand by our strategic partner and condemn China’s dangerous cyber-attack on India's grid, which forced hospitals to go on generators in the midst of a pandemic.
We cannot allow China to dominate the region through force and intimidation. https://t.co/1pMi2TMy3p
गत अक्टोबर १२ तारिखका दिन भारतको आर्थिक राजधानी मुम्बईमा घन्टौंसम्म बिजुली गएको थियो। २ करोड मानिस बसोबास गर्ने मुम्बईको जनजीवन अस्तव्यस्त बनेको थियो। रेल सेवा बन्द गर्नुपरेको थियो। कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालले भेन्टिलेटर चलाउन जेनेरेटर चलाउन परेको थियो।
अमेरिकाको रेकर्डेड फ्युचर संस्थाले गरेको अनुसन्धानले त्यो लोडसेडिङ हुनुमा चिनियाँ सरकार-समर्थित साइबर ह्याकर्सको हात हुन सक्ने दाबी गरेको हो।
चीनको सरकार समर्थित समूह रेड इकोले भारतीय विद्युत उत्पादन र वितरण प्रणालीको सफ्टवेयरमा माल्वेयर पठाएर १२ वटा संवेदनशील नोडमा पहुँच बनाएको द न्युयोर्क टाइम्सले जनाएको छ। यही योजनाबमोजिम मुम्बईमा विद्युत अवरूद्ध गरिदिएको हुन सक्ने रेकर्डेड फ्युचरका अधिकारीले दाबी गरेका हुन्।
मुम्बईमा ‘साइबर आक्रमण’ गरी विद्युत् बन्द त्यतिबेला गरिएको थियो, जतिबेला पूर्वी लद्दाखमा चीन र भारतका सेनाबीच सीमा विवाद बढिरहेको थियो। गत जुन १५ तारिख त्यहाँको गलवान उपत्यकामा दुई देशका सैनिकबीच भिडन्त हुँदा भारततर्फ २० र चीनतर्फ ४ सैनिकको मृत्युसमेत भएको थियो। त्यसकै आसपास मुम्बईमा अचानक भएको विद्युत् अवरुद्धले आशंका अझ बढाएको हो।
चीनले भारतलाई चेतावनी दिन मुम्बईमा लोडसेडिङ गराएको हुन सक्ने सुरक्षा अधिकारीको अनुमान छ। तर भारत सरकारले यसबारे अहिलेसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन।

प्रतिक्रिया