राजनीति


चोचोमोचो मिलाएर कांग्रेस सरकारमा जानु हुँदैन : पौडेल

चोचोमोचो मिलाएर कांग्रेस सरकारमा जानु हुँदैन : पौडेल

नेपालखबर
फागुन १८, २०७७ मंगलबार १६:१०,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले विगतमा राष्ट्रपति र प्रधानमन्त्रीको प्रस्तावलाई त्यागेकाले अहिले फेरि राष्ट्रपति पदको लोभमा मुछिएकामा आपत्ति जनाएका छन्।

नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिका पूर्वसभापति विश्वनाथ मिश्रको १०५ औँ जन्मजयन्तीको अवसरमा विश्वनाथ मिश्र स्मृति प्रतिष्ठान, सिरुटारले आज यहाँ आयोजना गरेको सम्मान एवं रक्तदान कार्यक्रममा उनले यस्तो आफूमाथि गलत प्रचार गर्न थालिएको भन्दै आपत्ति जनाएका हुन्।

‘देशमा पहिलो राष्ट्रपति चुन्ने बेलामा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्थितिले राष्ट्रपति बन्न नदिएपछि तपाईं राष्ट्रपति हुनुस् भनेर मलाई प्रस्ताव आएको थियो’, पूर्वउपप्रधानमन्त्री पौडेलले भने, ‘त्यतिबेला पनि मैले गिरिजाबाबु मैले अझै पनि लोकतन्त्रको लागि लड्नु छ, राष्ट्रपतिको पदमा खुम्चिएर हुँदैन भनेर आएको अवसरलाई त्यागेको थिएँ।’

आफूले लोकतन्त्रको मूल्य र मान्यतासँग कहिल्यै सम्झौता नगरेको बताउँदै पौडेलले आफूलाई प्रधानमन्त्रीको समेत प्रस्ताव आएको जनाऊ दिए।

उनले भने, ‘पहिलो संविधानसभा कायम रहेको अवस्थामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलाई बालुवाटार बोलाएर डा बाबुराम भट्टराईलाई प्रधानमन्त्रीबाट राजीनामा गराउँछौँ, तपाई १० वा प्रदेश संरचनाको सिद्धान्त मान्ने घोषणा गरिदिनुस्, तपाईं आजै प्रधानमन्त्री बन्नुस् भनेर प्रस्ताव गर्नुभएको थियो, मैले त्यो अवसरलाई त्यागेर प्रत्येक संविधान निर्माणका प्रत्येक बुँदाबुँदामा लडेँ।’

राष्ट्रपति र प्रधानमन्त्रीको प्रस्तावलाई त्यागेर देश र लोकतन्त्रको रक्षाको लागि लड्दै आएको व्यक्तिलाई अहिले राष्ट्रपतिको लोभमा फस्यो भन्दै गलत प्रचार गरिएको उनको भनाइ थियो। नेता पौडेलले अहिले कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म कुनै पनि सरकारमा जान नहुने र कुनै पनि लोभमा फस्न नहुने बताए।

‘कांग्रेसले अहिलेको प्रतिपक्षको भूमिका निर्वाह गर्ने हो, मौका आयो भन्दैमा अहिले नै सरकारमा गएर जादु गर्न सकिन्न, कुर्सी हत्याएको भोलिपल्ट अर्को चुनावमा कसरी लड्ने?’, उनले भने, ‘चोचोमोचो मिलाएर सरकारमा जानु हुँदैन, जानै परे कमजोर पक्षलाई समातेर जाने हो, सिधै सरकारमा जाँदा दुर्घटना हुन्छ, संसदीय प्रक्रियाबाटै जानुपर्छ।’

केन्ददेखि प्रदेश सरकारसम्ममा कांग्रेस प्रतिपक्षमै बस्नुपर्ने धारणा राख्दै उनले देशमा कायमै रहेको राजनीतिक अस्थिरताको अन्त्य आवश्यक रहेको बताए। देश र लोकतन्त्रमाथि आएको आएको सङ्कट टरेको छैन भन्दै उनले अझै पनि निरङ्कुशताविरुद्धको लडाइँ जारी नै रहेको बताए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दुईतिहाइको सरकारलाई फालेर गरेको प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले जोगाएको टिप्पणी गर्दै उनले कुनै पनि पदको लोभमा आफू देश र लोकतन्त्रको रक्षा गर्ने मैदानबाट भागेर खुम्चिएर नबस्ने भनाइ राखे। कांग्रेसमा अहिले कै नेतृत्वले पार्टी जोगाउन नसक्ने भन्दै नेता पौडेलले कांग्रेस पार्टीको उद्धार गर्ने पक्षमा आफू रहेको बताए।

उनले भने, ‘पार्टीको उद्धार गर्ने बेला आएको छ, म यसको पक्षमा छु, पार्टी उद्धार गर्छु भनेर कोही सक्षम व्यक्ति आए म अझै त्याग गर्न तयार छु, तर देश र पार्टीलाई अलपत्र पारेर मैदानबाट भाग्दिनँ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, रमा पौडेल, तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, नेता लेखनाथ न्यौपाने, कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायतले प्रजातन्त्र सेनानी मिश्रले प्रजातन्त्र स्थापनामा पु-याएको योगदानको चर्चा गरेका थिए।

त्यसअवसरमा विसं २०३२ देखि २०७६ सालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, प्रशासनलगायत सार्वजनिक क्षेत्रका लागि जग्गा दान गर्ने १८ दातालाई सम्मान गरिएको कार्यक्रममा सभापति एवं प्रतिष्ठानका अध्यक्ष सुरज मिश्रले जानकारी दिए। कार्यक्रममा १५ ले रक्तदान गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad