राजनीति


जब बर्मेलीको उपचार गर्न गोविन्द केसीले भेष बदल्नुपर्‍यो

 जब बर्मेलीको उपचार गर्न गोविन्द केसीले भेष बदल्नुपर्‍यो

यज्ञराज जोशी
फागुन २१, २०७७ शुक्रबार १३:५६,

सन् २००८ को म्यानमारमा विध्वंशकारी चक्रवात ‘नर्गिस’बाट ८० हजार बढी मानिसहरुको ज्यान गएको थियो। विश्वकै ठूलोमध्येको यो विपत्तिमा हजारौँ घाइते भएका थिए, लाखौँ घरबारविहीन भएका थिए।

चक्रवातको खबर सुनेपछि डा.गोविन्द केसीको मन पनि थामिएन। केसी तराईमा बाढी जाँदा होस् या हिमाल–पहाडमा भाइरल ज्वरोको प्रकोप होस्, आफ्नै खर्चमा उपचार गर्न पुगिरहन्थे।

केसीले बर्मेली नागरिकलाई सहायताको खाँचो महसुस गरे। अनि आफ्नै खर्चमा बैंकक हुँदै म्यानमारको टिकट काटे।

केसी यांगुन पुगे। तर, उनले चक्रवातबाट प्रभावितहरुलाई उपचार गर्न पाएनन्। सेनाले उनलाई रोक्यो।

‘जबकि त्यहाँका नागरिकलाई सेवाको जरुरत थियो। हजारौँ मानिसहरु उपचारका लागि पर्खिरहेका थिए,’ केसीले त्यसबेलाको घटना सम्झिँदै नेपालखबरसँग भने, ‘मैले बढी क्षतिग्रस्त इलाकामा गएर उपचार गर्न चाहन्छु भनेपनि त्यहाँको सैनिक शासकले जान दिएन। म यांगुनमै रोकिनुपर्‍यो।’

त्यसपछि उनी भेष बदलेर प्रभावित क्षेत्रमा पुगे। एक स्थानीय शिक्षकले उनलाई प्रभावित क्षेत्रमा जान सहयोग गरेका थिए। त्यसरी जान उनले स्थानीय पहिरन लगाउनुका साथै एकाध बर्मेली शब्द पनि सिक्नुपरेको थियो।

तर, यसरी भेष बदलेर काम गरेको थाहा पाए सेनाले विदेशीलाई देशनिकाला गर्नुका साथै सहयोग गर्ने स्थानीयलाई १० वर्षसम्म जेलमा हाल्ने कुरा केसीले थाहा पाए।

burma_23wt3.jpg

‘मलाई देशनिकाला गरे त केही थिएन। तर मलाई सहयोग गर्ने स्थानीय शिक्षकलाई दश वर्ष जेल हाल्छ कि भन्ने डर लाग्यो र म केही दिनमै त्यहाँबाट फर्किएँ,’ केसी सम्झन्छन्, ‘त्यसबेला मैले म्यानमारको सैनिक शासनलाई नजिकबाट देख्ने मौका पाएँ। उनीहरु कति क्रुर छन्, कति निरंकुश छन् भन्ने देख्न, अनुभव पनि गर्न पाएँ।’

गत माघ १९ मा म्यानमारमा सेनाले कू गर्‍यो। नेतृ आङ सान सू ची र राष्ट्रपति विन मिन्ट लगायतलाई पक्राउ गरियो।

गत नोभेम्बरमा भएको निर्वाचनमा सू चीको दलले धाँधली गरेर विजय हासिल गरेको आरोप लगाउँदै सेनाले एकपटक पनि बैठक बस्न नपाई संसद् विघटन गरिदियो। त्यसविरुद्ध आन्दोलनमा उत्रेकाहरुमाथि सेनाले बर्बर हिंसा मच्चाइरहेको छ। बीबीसीका अनुसार शुक्रबारसम्म ५५ आन्दोलनकारीले ज्यान गुमाइसकेका छन्। बुधबारमात्रै ३८ प्रदर्शनकारी मारिएका थिए।

उक्त संहारको विरोधमा केसीसहितका नागरिक अगुवाहरुले शुक्रबार काठमाडौँस्थित म्यानमारको राजदूतावासअगाडि प्रदर्शन गरे। केसीले म्यानमारमा नागरिकमाथि भएको संहारले नेपालीसहित प्रजातन्त्रप्रेमीहरुलाई मर्माहत तुल्याएको बताए।

‘म्यानमारमा पनि थुप्रै नेपालीहरु छन्। त्यहाँको सैन्य नेतृत्वको दमन र क्रुरताले हामीसँगै संसारभरका शान्तिप्रेमी, लोकतन्त्रप्रेमीलाई मर्माहत बनाएको छ,’ केसीले भने, ‘बर्मेली जनता सरल, सहज स्वभावका, शान्ति र प्रजातन्त्रप्रेमी छन्। त्यहाँका सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई हामी तपाईंको साथमा छौँ भन्न चाहन्छु।’

केसीले म्यानमारमा भइरहेको बर्बरतालाई अन्तर्राष्ट्रिय समुदायले परबाट हेरेर बस्न नहुने बताए। मानवता सबैभन्दा ठूलो कुरो भएकाले जनताका पक्षमा लाग्न उनले सबैलाई आह्वान गरे।

म्यानमारमा जनताहरुले प्रजातन्त्रको पक्षमा गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै लेखक खगेन्द्र संग्रौलाले माघ १९ तानाशाहहरुको दिनजस्तै भएको बताए। उनले माघ १९ मै नेपालमा ज्ञानेन्द्र शाहले फौजी शासन सुरु गरेको स्मरण गर्दै म्यानमारमा सेनाले सोही दिन कू गरेको बताए।

‘म्यानमारकासडक र चोकहरुले तियानमेन चोकको सम्झना गराउँछ। जहाँ लासको चाङ छ र सडकमा रगत बगिरहेको छ,’ संग्रौलाले भने, ‘संसारभर स्वतन्त्रता, लोकतन्त्र, जीवनको सार्थकताप्रेमी नागरिकहरु यसरी नै म्यानमारका नागरिकको आन्दोलनप्रति ऐक्यवद्धता जनाउन सडकमा उत्रिएका छन्। बर्मामा जे भइरहेको छ त्यो धेरै लामो समय चल्नेवाला छैन। यो समय तानाशाहको होइन, लोकतन्त्रको हो।’

burma_64345.jpg

त्रिविका अध्यापक सन्तोष परियारले सेनाले निर्वाचनमा जनमतलाई नमानी लोकतन्त्रमाथि प्रहार गरेको बताए।

‘प्रतिगमन संसारका जुनसुकै कुनामा भएपनि लगभग उस्तै हुँदो रहेछ। निहत्था जनतामाथि गोली बर्साइँदो रहेछ। स्वतन्त्रताप्रेमी, लोकतन्त्रप्रेमीलाई मारिँदो रहेछ,’ उनले भने, ‘नेपालमा पनि लोकतन्त्रमाथि बारम्बार आक्रामण हुने गर्छ। भर्खरैमात्रै लोकतन्त्रमाथि भएको एक आक्रमणलाई अलिकति भएपनि मत्थर पारेका छौँ। नेपाली नागरिकपनि तानाशाहको विरुद्धमा छन् भन्ने सन्देश राजदूतावासबाट पठाउन चाहन्छौँ।’

नागरिक अभियान्ता दोभान राईले संसारका शासकहरु एकै प्रवृत्तिका भएकाले शासितहरु पनि एक हुनुपर्ने बताइन्। म्यानमार र नेपाली शासकको भाषा, रुपरंग फरक भएपनि मनोवृत्ति एउटै भएको उनको भनाइ थियो।

‘शासकहरुको मनभरि डर छ र असिमित लोभ छ। संसारभरको शासकको सेटिङ नै चलिरहेको छ। त्यही भएर उनीहरुविरुद्ध शासितहरु एक हुनुपर्छ,’ उनले भनिन्, ‘हामीले हाम्रा शासकलाई हिरो देख्यौँ, भगवान देख्यौँ। तर हाम्रो शासकले हामी शासितलाई देख्ने भनेको भेडा नै हो, प्युसो नै हो, गुच्चा नै हो। त्यही भएर पनि शासितहरु एक हुनु जरुरी छ।’

कार्यक्रममा शिल्पी थिएटरका कलाकारहरुले नाटक समेत प्रस्तुत गरेका थिए। उनीहरुले बर्माका विभिन्न सहरमा मृत्यु भएकाहरुको संख्या प्रस्तुत गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .